Newad1
Featured blog image

पेट्रोल र ब्याट्रीबिना प्रतिघण्टा ६५४ किलोमिटर, हाइड्रोम्याक्सको छलाङ

काठमाडौं । पेट्रोलियम इन्धन र ब्याट्रीबीच भविष्यको सवारी प्रविधिलाई लिएर बहस चलिरहेका बेला अर्को विकल्पले विश्वलाई चकित बनाएको छ । उत्खनन तथा निर्माण उपकरणमा प्रयोग हुने प्रविधिमा आधारित एउटा विशेष कारले जमिनमा दौडेर हाइड्रोजनको सामर्थ्य देखाएको हो ।

बेलायती औद्योगिक उपकरण निर्माता जेसीबीले विकास गरेको ‘हाइड्रोम्याक्स’ले अमेरिकाको युटास्थित बोनभिल साल्ट फ्ल्याट्समा प्रतिघण्टा ६५३ दशमलव ९१ किलोमिटरको औसत गति कायम गरेको छ । यो हाइड्रोजनबाट चल्ने सवारीले हासिल गरेको हालसम्मकै उच्च गति हो ।

कारले पहिलो दिशामा प्रतिघण्टा ६४४ दशमलव ७४ किलोमिटर र फर्किने क्रममा प्रतिघण्टा ६६३ दशमलव २७ किलोमिटर गति कायम गरेको थियो । दुवै दौडको औसतका आधारमा नयाँ कीर्तिमान तय गरिएको हो ।

उत्खनन उपकरणकै इन्जिनबाट १ हजार ६०० हर्सपावर

हाइड्रोम्याक्समा जेसीबीका उत्खनन उपकरणका लागि विकास गरिएका दुईवटा हाइड्रोजन कम्बसन इन्जिन प्रयोग गरिएको छ । प्रतिस्पर्धाका लागि व्यापक परिमार्जन गरिएका प्रत्येक इन्जिनले ८०० हर्सपावर शक्ति उत्पादन गर्छन् । दुवै इन्जिनको संयुक्त शक्ति १ हजार ६०० हर्सपावर र टर्क ३ हजार ५२५ न्युटन मिटर छ ।

हाइड्रोजनलाई फ्युल सेलबाट बिजुली उत्पादन गर्न प्रयोग गरिएको होइन । इन्जिनभित्रै हाइड्रोजन बालेर कार चलाइएको हो । यसले परम्परागत कम्बसन इन्जिनको संरचना जोगाउँदै डिजेलको विकल्प विकास गर्न सकिने सम्भावना देखाएको छ ।

अघिल्लो कीर्तिमानभन्दा दोब्बर बढी गति

यसअघि हाइड्रोजन कम्बसन इन्जिनबाट चल्ने कारको कीर्तिमान बीएमडब्ल्यू एचटुआरको नाममा थियो । उक्त कारले सन् २००४ मा प्रतिघण्टा २९८ दशमलव ५३ किलोमिटर गति कायम गरेको थियो । हाइड्रोम्याक्सले त्यसलाई दोब्बरभन्दा बढी अन्तरले पछि पारेको छ ।

यसले प्रतिघण्टा ४८८ किलोमिटरको हाइड्रोजन फ्युल सेल सवारीको कीर्तिमान र प्रतिघण्टा करिब ५५० किलोमिटरको विद्युतीय सवारी कीर्तिमानसमेत पार गरेको छ । यद्यपि, सबै प्रकारका जमिनमा दौडने सवारीको समग्र विश्व कीर्तिमान भने प्रतिघण्टा १ हजार २२९ किलोमिटरभन्दा बढी छ ।

चालक पनि कीर्तिमानकै पर्याय

हाइड्रोम्याक्स चलाउने एन्डी ग्रिनले सन् १९९७ मा थ्रस्ट एसएससीमार्फत ध्वनिको गति पार गर्दै समग्र जमिनी गति कीर्तिमान बनाएका थिए । उनले सन् २००६ मा जेसीबी डिजेलम्याक्स चलाएर डिजेल सवारीको गति कीर्तिमानसमेत कायम गरेका थिए ।

बीस वर्षपछि जेसीबीसँगै अर्को कीर्तिमान बनाएका ग्रिनले कार उच्च गतिमा पनि स्थिर, बलियो र विश्वासिलो रहेको बताएका छन् ।

नेपालमा हाइड्रोजन सवारी तत्काल व्यावसायिक विकल्प बन्ने अवस्था नरहे पनि यस सफलताले भारी निर्माण उपकरण, कृषि मेसिन र लामो समय लगातार चल्नुपर्ने सवारीमा डिजेलको विकल्प खोज्ने बहसलाई बल दिएको छ । ब्याट्रीको तौल र चार्जिङ समय चुनौती बन्ने क्षेत्रमा हाइड्रोजन कम्बसन प्रविधि उपयोगी हुन सक्ने संकेत यो कीर्तिमानले गरेको छ ।


footer