Newad1
Featured blog image

होटल, ट्राभल र संस्थागत प्रयोगलाई लक्षित गर्दै जिनबेई हाइस नेपालमा

काठमाडौं । नेपालमा व्यवसायिक सवारी साधनको बजार विस्तार भइरहेका बेला अब विद्युतीय यात्रुवाहक भ्यानतर्फ पनि नयाँ विकल्प थपिएको छ । इन्धन खर्च घटाउने, सञ्चालन लागत कम गर्ने र दैनिक व्यावसायिक यात्रालाई अझ किफायती बनाउने लक्ष्यका साथ नयाँ विद्युतीय भ्यान नेपाली बजारमा प्रवेश गरेको हो ।

यसक्रममा एसटिसी अटो सोलुसन ले जिनबेई हाइस विद्युतीय भ्यानको औपचारिक बुकिङ खुला गरेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो भ्यान विशेषगरी पर्यटन व्यवसाय, होटल, ट्राभल कम्पनी, कर्मचारी ओसारपसार सेवा तथा दैनिक यात्रुवाहक व्यवसायलाई लक्षित गरेर ल्याइएको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार जिनबेई हाइसमा ५३.५८ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । पूर्ण चार्जमा यसले ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ । यही रेन्जले सहरभित्र नियमित सञ्चालनदेखि मध्यम दूरीका व्यावसायिक यात्रासम्म सहज बनाउने अपेक्षा गरिएको छ ।

यसमा ३०० न्युटन–मिटर अधिकतम टर्क उपलब्ध हुने भएकाले यात्रु तथा सामान बोकेको अवस्थामा पनि पर्याप्त पुलिङ पावर प्राप्त हुने कम्पनीको दाबी छ । भ्यानको अधिकतम गति प्रतिघण्टा १०० किलोमिटर रहेको छ ।

नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै यसमा १८० मिलिमिटर ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ । यसले असमतल तथा ग्रामीण सडकमा पनि सहज सञ्चालनमा सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । निजी कार र विद्युतीय बससँगै अब व्यवसायिक प्रयोजनका विद्युतीय भ्यान पनि बजारमा आउन थालेपछि संस्थागत तथा व्यवसायिक प्रयोगकर्ताका लागि विकल्प विस्तार हुँदै गएको देखिन्छ । सञ्चालन खर्च कम हुने, नियमित मर्मतसम्भारमा बचत हुने र वातावरणमैत्री प्रविधि भएकाले यस्ता सवारीप्रति व्यवसायीहरूको चासो बढिरहेको छ ।

एसटिसी अटो सोलुसनले जिनबेई हाइस इच्छुक ग्राहकलाई समयमै बुकिङ गर्न आग्रह गरेको छ । बुकिङ तथा थप जानकारीका लागि काठमाडौंको ढुंगेअड्डा स्थित कम्पनीको शोरुममा सम्पर्क गर्न सकिनेछ ।


footer