बुटवलमा विस्तार भयो कियाको सञ्जाल, टाइम्स बिजनेसले थाल्यो सेवा
बुटवल । पश्चिम नेपालको प्रमुख अटो बजारका रूपमा विस्तार भइरहेको बुटवलमा अर्को अन्तर्राष्ट्रिय ब्रान्डले आफ्नो उपस्थिति बलियो बनाएको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै रुपन्देही र आसपासका ग्राहकले गाडी खरिददेखि बिक्रीपछिका विभिन्न सुविधा स्थानीय रूपमै पाउने भएका छन् ।
टाइम्स बिजनेस प्रालिले नेपालका
लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल इन्टरप्राइजेजसँगको सहकार्यमा बुटवलमा
आधिकारिक डिलरका रूपमा सेवा सुरु गरेको हो । कम्पनीले भदौ १८ गतेदेखि
कालिकानगरस्थित शोरुमबाट औपचारिक कारोबार थालेको जनाएको छ ।
शोरुममा अहिले कियाका सेल्टोस,
के३ र सोनेट उपलब्ध छन् । आगामी दिनमा सिरोस ईभी, सात सिट क्षमताको क्लाभिस ईभी र
सोरेन्टो प्लग–इन हाइब्रिड पनि उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जानकारी
दिएको छ ।
नयाँ शोरुमले बुटवलसँगै पाल्पा,
रामनगर र रुपन्देही आसपासका ग्राहकलाई सेवा दिनेछ । यसअघि कियाका गाडी हेर्न,
टेस्ट ड्राइभ गर्न वा खरिदसम्बन्धी विस्तृत जानकारी लिन काठमाडौंलगायत ठूला सहरमा
निर्भर हुनुपर्ने यस क्षेत्रका ग्राहकलाई नयाँ डिलर सञ्चालनले सहज बनाउने अपेक्षा
गरिएको छ ।
टाइम्स बिजनेसले गाडी बिक्रीसँगै
सर्भिस, स्पेयर पार्ट्स, चार्जिङ, पुरानो गाडी साट्ने सुविधा, टेस्ट ड्राइभ,
बैंकिङ र बिमासम्बन्धी सेवा एउटै स्थानबाट उपलब्ध गराउने जनाएको छ । विशेषगरी
ईभीको बिक्री बढ्दै गएको अवस्थामा चार्जिङ र बिक्रीपछिको सेवा स्थानीय रूपमै
उपलब्ध हुनु ग्राहकका लागि महत्त्वपूर्ण मानिन्छ ।
कम्पनीको नेतृत्व अटोमोबाइल
व्यवसायमा लामो अनुभव हासिल गरेका दीपकराज गिरीले गरेका छन् । टाटा प्यासेन्जर
भेहिकल र जेसीबी नेपालमा काम गरिसकेका गिरी सन् २०१९ देखि कन्टिनेन्टल
इन्टरप्राइजेजसँग आबद्ध छन् । टाइम्स बिजनेसले काठमाडौं उपत्यकामा इसुजुको
आधिकारिक डिलरका रूपमा समेत कारोबार गर्दै आएको छ ।
गिरीले कियाका गाडी सहज रूपमा
ग्राहकसम्म पुर्याउनुका साथै बिक्रीपछिको भरपर्दो सेवा सुनिश्चित गर्नु कम्पनीको
प्राथमिकता रहेको बताए । गाडी बिक्रीमा मात्र केन्द्रित नभई सर्भिस, स्पेयर
पार्ट्स, चार्जिङ, एक्सचेन्ज र फाइनान्स सुविधा एउटै स्थानमा उपलब्ध गराएर
ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
डिलर सञ्चालनको अवसरमा कम्पनीले दसैँलक्षित विशेष योजना सार्वजनिक गर्ने तयारी पनि गरेको छ । नयाँ शोरुमसँगै कियाले बुटवल तथा आसपासका जिल्लामा आफ्नो बिक्री र बिक्रीपछिको सेवा सञ्जाल थप विस्तार गर्ने आधार तयार गरेको छ ।