३५ लाख ९० हजारमै सिरोस ईभी, कियाले ल्यायो विशेष अफर
काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा बढिरहेका बेला आकर्षक मूल्य र आधुनिक सुविधासहित अर्को कम्प्याक्ट एसयूभी थपिएको छ । सहरी प्रयोगसँगै लामो यात्रालाई समेत ध्यानमा राखेर ल्याइएको यो गाडीले मध्यम मूल्यको विद्युतीय एसयूभी खोजिरहेका ग्राहकको ध्यान खिच्ने देखिएको छ ।
कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत सिरोस ईभीको बुकिङ खुलाएको हो । कम्पनीले यसको आधिकारिक मूल्य ३७ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।
पहिलो एक सय ग्राहकले भने नाइमा विशेष अफरअन्तर्गत दुई लाख रुपैयाँ छुट पाउनेछन् । छुटपछि सिरोस ईभी ३५ लाख ९० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
नेपालमा सुरुवाती चरणमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको संस्करण ल्याइनेछ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ४४३ किलोमिटरसम्म दूरी तय गर्न सक्छ । यसमा १७१ पीएस शक्ति उत्पादन गर्ने विद्युतीय मोटर जडान गरिएको छ ।
एक सय किलोवाट क्षमताको डीसी द्रुत चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३९ मिनेट लाग्छ । नेपाली सडकका लागि उपयोगी मानिने १९७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स पनि यसको प्रमुख विशेषता हो ।
सिरोस ईभीमा १२ दशमलव ३ इन्चको टचस्क्रिन, समान आकारको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले र ५ इन्चको क्लाइमेट कन्ट्रोल प्यानल समेटिएको ३० इन्चको ट्रिपल प्यानोरामिक डिस्प्ले दिइएको छ । ताररहित एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, पछाडिको एसी भेन्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र पुनः ऊर्जा उत्पादन गर्ने ब्रेकिङ प्रणाली पनि उपलब्ध छन् ।
संस्करणअनुसार प्यानोरामिक सनरुफ, हर्मन कार्डनको आठ स्पिकरयुक्त ध्वनि प्रणाली, अगाडि तथा पछाडि हावा प्रवाह हुने सिट, ताररहित मोबाइल चार्जिङ, ३६० डिग्री क्यामेरा र गाडीबाट विद्युतीय उपकरण चलाउन सकिने सुविधा पाइनेछ ।
सुरक्षातर्फ ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, टायर प्रेसर निगरानी प्रणाली तथा लेभल–२ चालक सहायता प्रणालीका १६ सुविधा समावेश छन् । मूल्य, रेन्ज र सुविधाको संयोजनले सिरोस ईभीलाई नेपालको मध्यम मूल्यका विद्युतीय एसयूभीबीच बलियो प्रतिस्पर्धी बनाउने देखिन्छ ।