Newad1
Featured blog image

भदौमै कोरलाबाट भित्रिए १ हजार २५३ ईभी, उठ्यो १ अर्ब ९४ करोड राजस्व

मुस्ताङ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै भदौ महिनामा मात्रै १ हजार २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । रसुवागढी र तातोपानी नाकाबाट हुने व्यापार अवरुद्ध भएपछि कोरला चीनबाट सवारी तथा मालवस्तु आयात गर्ने मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको हो ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा कोरलाबाट एक सय वटा ईभी भित्रिएका थिए । भदौमा यो संख्या बढेर १ हजार २५३ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा यस नाकाबाट कुल १ हजार ३५३ ईभी नेपाल आएका छन् ।

ईभीको आयात बढेसँगै भन्सार राजस्व पनि उल्लेख्य रूपमा बढेको छ । कार्यालयले ईभीबाट साउनमा १७ करोड ३४ लाख र भदौमा १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । दुई महिनामा विद्युतीय सवारीबाट मात्रै २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व उठेको हो ।

ईभीसहित सबै मालवस्तुको जाँचपासबाट मुस्ताङ भन्सारले साउन र भदौमा कुल ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा २६ करोड ३९ लाख रुपैयाँ उठेकोमा भदौमा राजस्व बढेर २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ पुगेको कार्यालयको तथ्यांक छ ।

यस अवधिमा कोरलाबाट कन्टेनर आयात पनि तीव्र भएको छ । साउनमा ५७ वटा कन्टेनर भित्रिएकोमा भदौमा ६९७ वटा आएका छन् । दुई महिनामा भित्रिएका कुल ७५४ कन्टेनरबाट ९६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

भदौ १० गते रसुवामा आएको बाढीले सडक तथा भन्सार पूर्वाधारमा क्षति पुर्‍याएपछि रसुवागढी नाका अवरुद्ध भएको थियो । तातोपानीबाट हुने व्यापारसमेत रोकिएपछि आयातकर्ताले कोरला नाका प्रयोग गर्न थालेका हुन् । भदौ १० देखि २५ गतेसम्म मात्रै कोरलाबाट ६४१ ईभी र ४३४ कन्टेनरको जाँचपास भएको यसअघिको विवरणमा उल्लेख थियो ।

कोरलाबाट आयात बढे पनि नाकादेखि पोखरासम्मको लामो पहाडी सडक, सीमित भन्सार पूर्वाधार, चालक तथा सवारी व्यवस्थापन र चार्जिङ सुविधा चुनौतीका रूपमा छन् । पछिल्लो तथ्यांकले भने कोरला आपत्कालीन विकल्पमा मात्र सीमित नरही चीनबाट नेपालमा ईभी तथा मालवस्तु ल्याउने प्रमुख व्यापारिक मार्गका रूपमा विकसित भइरहेको देखाएको छ ।

footer