पहाड काटेर कृष्णभीरमा नयाँ बाटो, दुई साताभित्र ठूला गाडी चलाउने लक्ष्य
काठमाडौं । राजधानीको आपूर्ति व्यवस्था सहज बनाउने गरी पृथ्वी राजमार्गको सबैभन्दा जटिल अवरोध हटाउने काम अन्तिम चरणतर्फ पुगेको छ । सबै काम योजनाअनुसार भए अबको दुई साताभित्र इन्धन ट्यांकर, ग्यास बुलेट र ठूला मालवाहक गाडीले घुमाउरो तथा जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।
धादिङको कृष्णभीरमा बगेको सडक छल्न
पहाडतर्फको भित्ता काटेर २५५ मिटर नयाँ ट्र्याक खोलिएको छ । पाँच दिनमा खोलिएको
ट्र्याकलाई अहिले थप फराकिलो बनाउने, सतह मिलाउने र ग्रेडिङ गर्ने काम भइरहेको छ ।
कम्तीमा साढे सात मिटर चौडाइ कायम गरिने ट्र्याक भौगोलिक आवश्यकताअनुसार २७५
मिटरसम्म लम्बिन सक्नेछ । आगामी १० देखि १५ दिनभित्र यसबाट सानादेखि भारी मालवाहक
सवारीसम्म दुईतर्फी चलाउने लक्ष्य राखिएको छ ।
भारी गाडीको भार र घुम्तीलाई ध्यानमा
राखेर ट्र्याकको उकालोपना चार प्रतिशतभन्दा कम राख्ने प्रयास गरिएको छ । लामो गाडी
घुम्तीमा नअड्किने गरी ३५ देखि ४० मिटरको टर्निङ रेडियस कायम गर्न लागिएको छ । यी
मापदण्ड पूरा भए ग्यास बुलेट, इन्धन ट्यांकर, लामो दूरीका बस तथा १२ देखि १५
चक्केसम्मका मालवाहक गाडी सहज रूपमा चल्न सक्नेछन् ।
त्रिशूली नदीको तीव्र बहावले जग कटान
गरेपछि कृष्णभीरमा करिब १२० मिटर सडक पूर्ण रूपमा बगेको थियो । परेवाभीरमा करिब
१०० मिटर, पात्लेवनमा ८० मिटर र चालीसेमा ४० मिटर सडक क्षतिग्रस्त भएको छ ।
कृष्णभीर बन्द हुँदा राजधानी जोड्ने मुख्य आपूर्ति मार्ग टुटेको छ भने कान्ति
लोकपथ र त्रिभुवन राजपथ ठूला मालवाहक सवारीका लागि सहज विकल्प बन्न सकेका छैनन् ।
नयाँ ट्र्याक खुलेपछि काठमाडौं उपत्यकामा इन्धन, खाना पकाउने ग्यास र दैनिक
उपभोग्य वस्तुको ढुवानी नियमित बनाउन ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
अहिले तयार भइरहेको ट्र्याक तत्काल
यातायात खुलाउने उपाय मात्र हो । नदीको सतह घटेपछि पाइलिङ, सोइल नेलिङ, पानी निकास
र भिरालो भागको स्थायी व्यवस्थापन अघि बढाइनेछ । भविष्यमा नदी कटान र पहिरोले फेरि
राजमार्ग बन्द नगरोस् भनेर अहिलेको ट्र्याक सुदृढीकरण, त्रिशूलीपारिको वैकल्पिक
सडक र सुरुङमार्ग निर्माणका विकल्पमा पनि अध्ययन भइरहेको छ ।