कृष्णभीरको अवरोध हट्यो, नागढुंगा–मुग्लिन यात्रा सहज बन्दै
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा करिब २५५ मिटर नयाँ ट्रयाक खोल्ने काम सकिएको छ । बाढीले सडक बगाएपछि अवरुद्ध नागढुंगा–मुग्लिन सडकखण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने सरकारी तयारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ३१ गते बुधबार नयाँ ट्रयाक निर्माण सम्पन्न भएको जानकारी दिएको हो । पहाडको भित्ता काटेर तयार पारिएको ट्रयाकबाट सवारी चलाउन आवश्यक अन्तिम व्यवस्थापनपछि सडक नियमित सञ्चालनमा ल्याइने जनाइएको छ ।
बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब एक सय मिटर सडक पूर्ण रूपमा बगेको थियो । पुरानै स्थानबाट तत्काल सडक सञ्चालन गर्न नसकिने भएपछि क्षतिग्रस्त भागलाई छलेर पहाडतर्फ नयाँ ट्रयाक खोलिएको हो ।
नयाँ ट्रयाक करिब साढे सात मिटर चौडा रहेको यसअघि आयोजनाले जनाएको थियो । ट्रयाक निर्माणका लागि विभिन्न प्रकारका मेसिन र जनशक्ति परिचालन गरी दैनिक लामो समयसम्म काम गरिएको थियो ।
यो खण्ड अवरुद्ध हुँदा काठमाडौं र मुग्लिन हुँदै पूर्व तथा पश्चिमतर्फ जाने सवारीले वैकल्पिक तथा लामो मार्ग प्रयोग गर्नुपरेको थियो । दुईतर्फी यातायात सुरु भएपछि पृथ्वीराजमार्ग भएर हुने यात्रु र मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
तत्कालका लागि नयाँ ट्रयाकबाट सवारी चलाइने भए पनि कृष्णभीरको दीर्घकालीन समाधानका विकल्पबारे अध्ययन जारी छ । बाढीबाट क्षतिग्रस्त पुरानो सडक पुनर्निर्माण गर्ने वा सुरुङ, पुल तथा नयाँ रेखाङ्कनमध्ये उपयुक्त विकल्प अपनाउने विषयमा प्राविधिक अध्ययन भइरहेको छ ।