पहाडतर्फबाट नयाँ बाटो खोलिँदै, कृष्णभीरमा भदौभित्रै गाडी चलाउने लक्ष्य
काठमाडौं । बाढीले राजधानी जोड्ने प्रमुख सडक र पुलहरू छियाछिया बनाएपछि रोकिएको यातायात कसरी चाँडो खुलाउने भन्ने चुनौती थपिएको छ । तत्कालका लागि नयाँ ट्र्याक र बेलिब्रिजको सहारा लिइँदै छ भने जोखिमपूर्ण क्षेत्रमा स्थायी विकल्प खोज्ने तयारीसमेत अघि बढाइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको
कृष्णभीरमा पहाडतर्फबाट नयाँ ट्र्याक खोलेर चालु भदौ महिनाभित्र सवारी सञ्चालन
गर्ने लक्ष्य राखिएको छ । बाढीले सडकको तल्लो भाग कटान गरी राजमार्ग भासिएपछि
यात्रु आवागमनसँगै इन्धन, ग्यास, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको ढुवानी
प्रभावित भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात
मन्त्रालयका अनुसार पहाडतर्फ ग्याबियन पर्खालमाथिबाट अस्थायी ट्र्याक निर्माण
गरिनेछ । नदीले थप कटान नगरोस् भनेर सडकको आधार क्षेत्रमा ‘सेक्रिफिसियल ग्याबियन
बक्स’ र ठूला ढुङ्गा राख्ने तयारी पनि गरिएको छ ।
अस्थायी ट्र्याकबाट तत्काल गाडी
चलाउने योजना बनाइए पनि कृष्णभीरको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग वा
सुरक्षित बाइपास सडकको सम्भाव्यता अध्ययन गरिने भएको छ । सडक विभागले टनेल, सोइल
नेलिङ र सिट पाइललगायत विकल्पको अध्ययन गरी चालु आर्थिक वर्षभित्र सम्भावित
योजनाको खाका तयार गर्ने लक्ष्य राखेको छ ।
टुटेका पुलमा बेलिब्रिज
भोटेकोशी र त्रिशूली नदीमा आएको
बाढीले प्रभावित क्षेत्रमा ३१ वटा पक्की तथा ४८ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको
प्रारम्भिक विवरण छ । क्षतिग्रस्त झोलुङ्गे पुलमध्ये २० वटा मर्मत गरेर पुनः
सञ्चालन गर्न सकिने देखिएको छ भने २८ वटा नयाँ बनाउनुपर्ने अवस्था छ ।
पुल बगेका कारण सडक सुरक्षित रहेका
कतिपय स्थानमा समेत गाडी चल्न सकेका छैनन् । मुख्य बस्ती, बजार, राहत केन्द्र र
सीमा नाकासँगको सम्पर्क पुनःस्थापित गर्न सरकारले प्रभावित क्षेत्रमा बेलिब्रिज
जडान गर्न थालेको हो ।
सरकारसँग रहेका ४८ मिटर लम्बाइका छवटा
र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज परिचालन गरिएको छ । तादी देवीघाट र बेत्रावतीमा
जडानको काम सुरु भइसकेको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ ।
भारतबाट २३० फिट लम्बाइको एक लेनको
मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ । थप सातवटा बेलिब्रिज उपलब्ध गराउने
प्रतिबद्धता आएको बताइएको छ । उत्तरी सीमा नाका जोड्ने सडक पुनः सञ्चालनका लागि
चीनसँग पनि थप ३० वटा बेलिब्रिज सहयोग मागिएको छ ।
रसुवागढी करिडोरमा ठूलो क्षति
नेपाल–चीन व्यापारसँग जोडिएको
गल्छी–बेत्रावती–रसुवागढी सडकमा सबैभन्दा गम्भीर क्षति देखिएको छ । कुल ८२
किलोमिटरमध्ये विदुरदेखि बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको ४०
किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । थप १६ किलोमिटर क्षेत्रमा आंशिक
क्षति पुगेको छ ।
यस सडकको अवरोधले स्थानीय आवागमन
मात्र होइन, चीनबाट हुने सवारीसाधन, स्पेयर पार्ट्स र अन्य वस्तुको आयातसमेत
प्रभावित हुने देखिएको छ । क्षतिको अध्ययन र आपत्कालीन मर्मतका लागि ५० जना
टेक्निसियन तथा कर्मचारी फिल्डमा खटाइएको छ । तत्काल काम अघि बढाउन सडक बोर्डमार्फत
तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे
र गलौदी क्षेत्रमा लेदो हटाएर सवारी सञ्चालन गरिए पनि कृष्णभीर अझै राजधानीको
यातायात सम्पर्कका लागि मुख्य चुनौती बनेको छ ।
अस्थायी ट्र्याकले तत्काल यात्रु र अत्यावश्यक सामग्रीको आवागमन सहज बनाउन सक्छ । तर नदी कटान र पहिरो दोहोरिने कृष्णभीरमा राजधानीको प्रमुख सडक बारम्बार बन्द हुन नदिन सुरुङमार्ग वा सुरक्षित बाइपासलाई स्पष्ट बजेट, विस्तृत अध्ययन र कार्यान्वयन समयसीमासँग जोड्नुपर्ने देखिएको छ ।