Newad1
Featured blog image

कृष्णभीरको नयाँ ट्र्याकले पृथ्वी राजमार्ग मात्र होइन, तीन वैकल्पिक मार्गलाई राहत

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निर्माण गरिएको नयाँ ट्र्याकबाट बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ । नागढुंगा–मुग्लिन सडक पूर्ण रूपमा खुलेसँगै कान्ति लोकपथ, फर्पिङ–फाखेल र पालुङ–हेटौँडा मार्गमा पछिल्ला दिन बढेको अतिरिक्त सवारी चाप घट्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम पूरा भएपछि असोज १ गते बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो । पहाड काट्ने, ग्राभेल बिछ्याउने, सडक सम्याउने तथा पानी निकासका लागि नाली र पाइप राख्ने मुख्य काम सकिएपछि सडक दुईतर्फी रूपमा खुलाइएको छ ।

नयाँ ट्र्याकमा सात मिटर चौडा सवारी चल्ने भाग बनाइएको छ । नालीसहित यसको कुल चौडाइ करिब साढे सात मिटर छ । नियमित यातायात खुलाउनुअघि ग्यास बुलेटलगायत केही सवारी चलाएर ट्र्याकको परीक्षणसमेत गरिएको थियो । सडक सञ्चालनमा आए पनि पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक टोली र आवश्यक उपकरण कृष्णभीरमै राखिएको छ ।

कृष्णभीर अवरुद्ध हुँदा काठमाडौं आउजाउ गर्ने सवारीसाधनलाई मकवानपुरका विभिन्न वैकल्पिक मार्गमा पठाइएको थियो । साना सवारीका लागि हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली तथा काठमाडौंबाट फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गरिएको थियो । साँघुरा सडकमा सवारी चाप बढेपछि कतिपय स्थानमा गाडी रोकेर समूहगत रूपमा सञ्चालन गर्नुपरेको थियो ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तु बोकेका १२ चक्कासम्मका मालवाहक सवारीलाई भैँसे–पालुङ हुँदै त्रिभुवन राजपथबाट काठमाडौं पठाइएको थियो । काठमाडौंबाट हेटौँडातर्फ जाने मालवाहक सवारीलाई भने एकान्तकुना–छम्पी–टिकाभैरव हुँदै कान्ति लोकपथमा पठाइएको थियो । कृष्णभीर खुलेसँगै यी वैकल्पिक मार्गमा केन्द्रित ठूला तथा साना सवारीसाधन क्रमशः पृथ्वी राजमार्गमै फर्किन थालेका छन् ।

गत भदौ १० गते आएको बाढीले कृष्णभीरको पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि नागढुंगा–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । प्राविधिक अध्ययनपछि नदीतर्फको क्षतिग्रस्त भाग छाडेर पहाड काटी नयाँ ट्र्याक निर्माण गरिएको हो ।

footer