Newad1
Featured blog image

केटीएम ७९० ड्युक अपडेटसहित सार्वजनिक, एर्गोनोमिक्सदेखि ब्रेकिङ सिस्टमसम्म व्यापक सुधार


काठमाडौं । केटीएमले आफ्नो लोकप्रिय मिडलवेट नेकेड मोटरसाइकल ७९० ड्युकको नयाँ अपडेटेड संस्करण सार्वजनिक गरेको छ । नयाँ मोडलमा इन्जिन यथावत् राखिए पनि एर्गोनोमिक्स, च्यासिस, सस्पेन्सन, ब्रेकिङ सिस्टम तथा डिजाइनमा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ ।

अपडेटेड ७९० ड्युकमा नयाँ ह्यान्डलबार, पुनःस्थापित राइडर तथा पिलियन फुटपेग र पुनःडिजाइन गरिएको सिट प्रयोग गरिएको छ, जसले अझ प्राकृतिक र आरामदायी राइडिङ पोजिसन प्रदान गर्ने दाबी गरिएको छ। साथै नयाँ सबफ्रेम, परिमार्जित ट्रिपल क्ल्याम्प र नयाँ आकारको फ्युल ट्याङ्कले फ्रन्ट ह्विलको फिडब्याक सुधार गर्ने कम्पनीको भनाइ छ। ठूलो देखिए पनि नयाँ मोडल अघिल्लो संस्करणभन्दा करिब २ किलोग्राम हल्का भएको दाबी गरिएको छ ।

डिजाइनतर्फ ७९० ड्युकले केटीएमको नयाँ ड्युक परिवारको स्टाइलिङ अपनाएको छ। यसमा नयाँ एलईडी हेडलाइट, स्लिम बडीवर्क, ठूलो फ्रन्ट काउल तथा पुनःडिजाइन गरिएको फ्युल ट्याङ्क समावेश गरिएको छ । यसको डिजाइन भाषा ९९० ड्युक र १३९० सुपर ड्युक आरबाट प्रेरित रहेको बताइएको छ ।


पावरट्रेनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा युरो ५+ मापदण्डअनुरूपको ७९९ सीसी एलसी८सी प्यारेलेल-ट्विन, लिक्विड-कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १०५ एचपी पावर र ८७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनसँग ६-स्पिड गियरबक्स तथा स्लिप-एन्ड-असिस्ट क्लच जोडिएको छ । साथै नयाँ डिजाइनको एक्जस्ट र मफलर पनि समावेश गरिएको छ ।

सस्पेन्सनतर्फ डब्लुपी एपेक्सका ४३ एमएम यूएसडी फोर्क र रियर मोनोशकलाई परिमार्जन गरिएको छ । फोर्कमा कम्प्रेसन तथा रिबाउन्ड ड्याम्पिङ एड्जस्टमेन्ट उपलब्ध छ भने रियर मोनोशकमा प्रिलोड र रिबाउन्ड एड्जस्टमेन्टको सुविधा दिइएको छ। सस्पेन्सन ट्युनिङलाई अझ सहज बनाउन पाँच-क्लिक एड्जस्टर प्रणाली पनि थपिएको छ ।

ब्रेकिङ सिस्टममा गरिएको परिवर्तनलाई सबैभन्दा महत्वपूर्ण अपडेटमध्ये एक मानिएको छ । अब ७९० ड्युकमा केटीएम-ब्याज्ड जे.जुआन ब्रेकको सट्टा डब्लुपीद्वारा विकसित नयाँ रेडियल ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले थप प्रभावकारी स्टपिङ पावर, राम्रो लेभर फिल र उच्च नियन्त्रण प्रदान गर्छ । साथै डब्लुपी स्टेयरिङ ड्याम्पर अब स्ट्यान्डर्ड रूपमा उपलब्ध हुनेछ । मोटरसाइकलमा पिरेली डायब्लो रोसो ४ टायर प्रयोग गरिएको छ ।

यससँगै केटीएमले भविष्यका मोडलहरूमा ‘डेमो मोड’ फिचर हटाउने निर्णय पनि गरेको छ । ग्राहकबाट अपेक्षाअनुसार सकारात्मक प्रतिक्रिया नपाएपछि कम्पनीले उक्त सुविधा बन्द गर्ने जनाएको छ ।

अपडेटेड केटीएम ७९० ड्युक अन्तर्राष्ट्रिय बजारमा जुलाई अन्त्यदेखि बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।


footer