Newad1
Featured blog image

एट्टो २सँगै उभिएको बी०३एक्स : ४४.९९ लाखको मूल्य कति जायज ?

काठमाडौं । नेपाली विद्युतीय एसयूभी बजारमा करिब ५० लाख रुपैयाँमुनिको मूल्य दायरा अहिले सबैभन्दा प्रतिस्पर्धी बनेको छ । यही भीडमा ४४ लाख ९९ हजार रुपैयाँमा आएको लिपमोटर बी०३एक्स प्रोम्याक्सले आफ्नो मूल्यलाई केवल ‘सस्तो विकल्प’का रूपमा होइन, स्पेसिफिकेसन र फिचरको बलमा अर्थ दिन खोजेको देखिन्छ ।

यसको नजिकको प्रतिस्पर्धी बीवाईडी एट्टो २ को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ । दुई गाडीको चरित्र र प्रविधिको दर्शन फरक भए पनि, बी०३एक्सले चार लाख रुपैयाँ कम मूल्यमा के दिन्छ भन्ने तुलना रोचक छ ।


ब्याट्री र रेन्ज : सानो अन्तर, उपयोगी फाइदा

बी०३एक्समा ५३ किलोवाट आवर एलएफपी ब्याट्री छ र डब्लुएलटीपी रेन्ज ३८२ किमि उल्लेख गरिएको छ । एट्टो २ मा ५१.१३ किलोवाट आवर ब्लेड ब्याट्रीसँग ३४५ किमि डब्लुएलटीपी रेन्ज छ । अर्थात् बी०३एक्सले कागजी तथ्यांकमा ३७ किमि बढी रेन्ज दिन्छ ।

दैनिक प्रयोगमा यो अन्तर सधैं ३७ किमि नै अनुभव हुन्छ भन्ने होइन, तर लामो यात्रामा चार्जिङ स्टपको योजना बनाउँदा अतिरिक्त रेन्जले केही सहजता भने दिन सक्छ ।

१४५ किलोवाट मोटर : मूल्यअनुसार बलियो प्रस्ताव

बी०३एक्सको अर्को ठूलो आकर्षण यसको १४५ किलोवाट मोटर हो । एट्टो २ मा १०० किलोवाट मोटर छ । टर्कमा भने एट्टो २ को २९० एनएम, बी०३एक्सको २०० एनएमभन्दा बढी छ ।

यसलाई कसले जित्यो भन्ने हिसाबले भन्दा पनि, ४५ लाख रुपैयाँको आसपासमा १४५ किलोवाट पावर उपलब्ध हुनु बी०३एक्सको मूल्यलाई आकर्षक बनाउने प्रमुख कारणमध्ये एक हो ।

चार्जिङ र बुट स्पेसले थप अर्थ दिन्छ

बी०३एक्सले अधिकतम १३३ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीको ब्रोसरअनुसार ३० देखि ८० प्रतिशत चार्ज हुन १६ मिनेट लाग्छ । एट्टो २ को अधिकतम डीसी चार्जिङ क्षमता ८२ किलोवाट हो ।

प्राक्टिकालिटीमा पनि बी०३एक्सको ५१० लिटर बुट उल्लेखनीय छ । एट्टो २ मा ३८० लिटर बुट स्पेस छ । परिवारसँग यात्रा गर्ने वा धेरै सामान बोक्ने प्रयोगकर्ताका लागि १३० लिटरको अन्तर सानो विषय होइन ।

एट्टो २ केही ठूलो,  ग्राउन्ड क्लियरेन्स पनि बढी

आकारमा एट्टो २ केही अगाडि छ । यसको लम्बाइ ४,३१० मिमि, चौडाइ १,८३० मिमि र उचाइ १,६७५ मिमि छ । बी०३एक्स क्रमशः ४,२७० मिमि, १,८१० मिमि र १,६३५ मिमिको छ ।

ग्राउन्ड क्लियरेन्स पनि एट्टो २ मा २०० मिमि, बी०३एक्समा १९० मिमि छ । नेपाली सडकका हिसाबले दुवै उपयोगी दायरामै पर्छन्, यद्यपि एट्टो २ ले यहाँ अतिरिक्त १० मिमिको सहजता दिन्छ ।


फिचरमा पनि मूल्य कटौतीको अनुभूति कम

बी०३एक्समा १४.६५ इन्च टचस्क्रिन, ८.८ इन्च डिजिटल क्लस्टर, १२ स्पिकर, हिटेड फ्रन्ट सिट, हिटेड स्टियरिङ, ३६० डिग्री क्यामेरासँगै एडाप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ, अटोमेटिक लेन चेन्ज, ब्लाइन्ड स्पट डिटेक्सन तथा विभिन्न चालक सहायता प्रणाली छन् ।

एट्टो २ को आफ्नै आकर्षण छ—ब्लेड ब्याट्री, ई–प्लेटफर्म ३.०, सेल–टु–बडी प्रविधि, हिट पम्प, भेन्टिलेटेड सिट र घुम्ने १२.८ इन्च टचस्क्रिनले यसलाई फरक स्वाद दिन्छ ।

आखिर ४५ लाखको मूल्य किन अर्थपूर्ण देखिन्छ ?

बी०३एक्सलाई एट्टो २ भन्दा ‘राम्रो’ वा एट्टो २ लाई ‘कमजोर’ साबित गर्नु यो तुलनाको उद्देश्य होइन । एट्टो २ आफ्नो प्रविधि, ब्रान्ड अनुभव र अलग फिचर सेटसहित स्थापित विकल्प हो ।

तर ४४ लाख ९९ हजार रुपैयाँमा बी०३एक्सले ५३ किलोवाट आवर ब्याट्री, ३८२ किमि डब्लुएलटीपी रेन्ज, १४५ किलोवाट मोटर, १३३ किलोवाट डीसी चार्जिङ, ५१० लिटर बुट र समृद्ध चालक सहायता प्रणाली दिनु नै यसको मूल्यलाई सबैभन्दा राम्रोसँग न्याय गर्ने पक्ष हो ।

अर्थात्, बी०३एक्सको आकर्षण केवल एट्टो २ भन्दा चार लाख रुपैयाँ सस्तो हुनुमा होइन; त्यो मूल्यमा कति धेरै उपयोगी हार्डवेयर र फिचर समेटिएको छ भन्नेमा छ । यही कारणले करिब ४५ लाख रुपैयाँको बजेटमा नयाँ विद्युतीय एसयूभी खोजिरहेका ग्राहकका लागि बी०३एक्स प्रोम्याक्सलाई गम्भीरतापूर्वक हेर्नुपर्ने विकल्प बनाउँछ ।

footer