एफएडब्ल्यूसँग मिलेर नयाँ ब्याट्री प्रविधि विकास गर्दै लिपमोटर
काठमाडौं । चिनियाँ ईभी निर्माता लिपमोटर र सरकारी स्वामित्वको अटोमोबाइल समूह एफएडब्ल्यूले भावी पावरट्रेन तथा ब्याट्री प्रविधि विकासमा सहकार्य गर्ने भएका छन् । नयाँ सम्झौताले हाइब्रिड इन्जिन र इलेक्ट्रिक ड्राइभदेखि सोलिड–स्टेट तथा सोडियम–आयन ब्याट्रीसम्मको क्षेत्र समेटेको छ ।
चीनको झेजियाङ प्रान्तस्थित
हुझोउमा भएको सम्झौताअनुसार लिपमोटर र एफएडब्ल्यूको पावरट्रेन सहायक कम्पनी छिसिन
पावरले हाइब्रिड इन्जिन, इलेक्ट्रिक ड्राइभ सिस्टम र रेन्ज एक्सटेन्डरमा स्रोत तथा
प्रविधि साझेदारीको सम्भावना खोज्नेछन् । लिपमोटरले छिसिन पावरको सिरिज–ए लगानी
चरणमा रणनीतिक लगानीकर्ताका रूपमा सहभागी हुने योजना पनि बनाएको छ ।
यससँगै एफएडब्ल्यूको ब्याट्री
इकाइ चाइना अटोमोटिभ न्यू इनर्जी ब्याट्री टेक्नोलोजी र लिपमोटरबीच छुट्टै
प्राविधिक सहकार्य सम्झौता भएको छ । यसअन्तर्गत सोलिड–स्टेट, लिथियम–रिच
म्याङ्गानिज, सोडियम–आयन र अत्यन्त छिटो चार्ज गर्न सकिने एलएफपी ब्याट्री प्रविधि
संयुक्त रूपमा विकास गरिनेछ ।
दुई कम्पनीको सहकार्य नयाँ भने
होइन । सन् २०२५ मा पनि लिपमोटर र एफएडब्ल्यूले यात्रुवाहक गाडी तथा अटो
कम्पोनेन्ट विकासमा हात मिलाएका थिए । लिपमोटरको ईभी प्लेटफर्ममा आधारित भएर
एफएडब्ल्यूको प्रिमियम ब्रान्ड होङ्छीका लागि अन्तर्राष्ट्रिय बजार लक्षित नयाँ
गाडी विकास गर्ने योजना यसअघि नै अघि बढाइएको थियो ।
नेपालमा लिपमोटरका बी०३एक्स, बी१०
र सी१० जस्ता मोडल उपलब्ध भएकाले कम्पनीको दीर्घकालीन ब्याट्री तथा प्लेटफर्म
रणनीतिले यहाँ पनि चासो बढाउनेछ । तर नयाँ सहकार्यमा समेटिएका ब्याट्री प्रविधि
नेपालमा अहिले बिक्री भइरहेका मोडलमा प्रयोग हुने वा कहिलेदेखि उत्पादनमा जाने
भन्ने समयतालिका सार्वजनिक गरिएको छैन । त्यसैले यसलाई तत्काल आउने उत्पादन अपडेटभन्दा
लिपमोटरको भावी प्रविधि रोडम्यापका रूपमा बुझ्नुपर्छ ।