लिपमोटरको बजार विस्तार तीव्र, बजेटपछि बुकिङ र डेलिभरी दुवै बढे
काठमाडौं, असार १४–सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि नेपाली बजारमा लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभीहरूको माग उल्लेख्य रूपमा बढेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार बजेट घोषणापछि लिपमोटरका B10 र C10 मोडलको बुकिङ तथा डेलिभरी दुवैमा उल्लेखनीय वृद्धि भएको हो ।
कम्पनीका अनुसार बजेटपछिको सकारात्मक बजार वातावरणसँगै ग्राहकहरूको आकर्षण बढ्दा नयाँ अर्डरको संख्या उल्लेख्य रूपमा बढेको छ भने सवारीसाधन डेलिभरी प्रक्रिया पनि तीव्र गतिमा अघि बढाइएको छ । यसले नेपाली उपभोक्तामाझ लिपमोटरले प्रदान गर्ने सुरक्षा, लामो रेन्ज, आधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यप्रति विश्वास बढ्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ ।
हाल लिपमोटरको लाइनअपमा रहेको C10 प्रिमियम लक्जरी इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित हुँदै गएको छ भने B10 अझ प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएकाले ग्राहकहरूको रोजाइमा परेको कम्पनीले जनाएको छ । बजेटपछि B10 को मूल्य रु. ५४ लाख ९९ हजार कायम गरिएको छ, जुन अघिल्लो मूल्य रु. ६० लाख भन्दा रु. ५ लाख १ हजार कम हो ।
दुवै मोडलले प्रतिष्ठित Euro NCAP 5-Star Safety Rating प्राप्त गरेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड पूरा गरेको पुष्टि गर्छ । कम्पनीका अनुसार B10 मा ६०० किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, स्पेयर टायर तथा दैनिक तथा लामो दूरीका यात्रालाई सहज बनाउने विभिन्न आधुनिक सुविधा उपलब्ध छन् । यी विशेषताले नेपाली सडक र उपभोक्ताको आवश्यकता दुवैलाई ध्यानमा राखेर उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले हाल देखिएको सकारात्मक बजार प्रतिक्रिया आगामी दिनमा नेपालमा सार्वजनिक हुने नयाँ मोडल लिपमोटर B03 का लागि पनि उत्साहजनक संकेत भएको जनाएको छ । विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिस को रणनीतिक साझेदारीमा रहेको लिपमोटरले अन्तर्राष्ट्रिय बजारमा द्रुत विस्तार गरिरहेको अवस्थामा नेपालमा पनि आफ्नो उपस्थिति निरन्तर सुदृढ बनाइरहेको कम्पनीको भनाइ छ ।
सांग्रिला मोटर्सले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र उत्कृष्ट मूल्य–प्रस्ताव भएका विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष उपलब्ध गराउँदै स्वच्छ तथा दिगो यातायात प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।