Newad1
Featured blog image

स्मार्ट स्कुटर खोज्दै हुनुहुन्छ ? १५८ किमी रेञ्जसहित टीभीएस अर्बिटर अब नेपालमै

काठमाडौं । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बजार विस्तार भइरहेका बेला टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि मार्फत बिक्री सुरु गरिएको यो स्कुटरको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले अर्बिटरलाई दैनिक सहरी यात्रालाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजारमा ल्याएको जनाएको छ ।

नयाँ अर्बिटरमा ३.१ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा अधिकतम १५८ किलोमिटर सम्मको रेञ्ज उपलब्ध गराउनेछ । यही कारण दैनिक कार्यालय आवतजावत, कलेज तथा सहरी प्रयोगलाई लक्षित ग्राहकका लागि यो स्कुटर उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ ।

अर्बिटरको अर्को विशेषता यसको १४ इन्चको फ्रन्ट ह्विल हो । टीभीएसका अनुसार यस श्रेणीमा पहिलोपटक उपलब्ध गराइएको यो ठूलो फ्रन्ट ह्विलले खराब सडकमा पनि राम्रो स्थिरता र सहज राइडिङ अनुभव प्रदान गर्नेछ । नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै स्कुटरमा १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले उकालो–ओरालो तथा खाल्डाखुल्डी भएका सडकमा पनि सहज सञ्चालनमा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

व्यावहारिक प्रयोगलाई प्राथमिकतामा राख्दै अर्बिटरमा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध गराइएको छ, जहाँ दुईवटा हेल्मेटसम्म राख्न सकिन्छ । त्यस्तै ८४५ मिलिमिटर लामो सिट र २९० मिलिमिटर चौडाइको फुटबोर्ड ले चालक तथा पछाडि बस्ने यात्रुलाई लामो यात्रामा पनि आरामदायी अनुभव दिने कम्पनीको भनाइ छ ।

फिचरका हिसाबले पनि अर्बिटर आधुनिक प्रविधिले भरिएको स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा इको र पावर राइडिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल तथा पार्किङ असिस्ट जस्ता सुविधा समावेश गरिएको छ । यी फिचरले सहरी ट्राफिकदेखि लामो दूरीसम्मको यात्रालाई सहज बनाउने विश्वास गरिएको छ ।

स्कुटरमा जडान गरिएको कलर टीएफटी डिजिटल डिस्प्ले मार्फत इनकमिङ कल, एसएमएस, टर्न–बाइ–टर्न नेभिगेसन तथा व्यक्तिगत सूचना हेर्न सकिने सुविधा दिइएको छ । साथै जियो–फेन्सिङ, टाइम–फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, चोरी तथा टोइङ अलर्ट, दुर्घटना तथा स्कुटर ढलेको जानकारी दिने सुरक्षा प्रणालीसमेत समावेश गरिएको छ । मोबाइल एपसँग जोडिएपछि प्रयोगकर्ताले ब्याट्रीको अवस्था, ओडोमिटर विवरण हेर्नुका साथै ओभर–द–एयर सफ्टवेयर अपडेट पनि प्राप्त गर्न सक्नेछन् ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गर ले नेपालमा अर्बिटरको आगमन दिगो यातायाततर्फको कम्पनीको रणनीतिक यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार विद्युतीय सवारीको माग तीव्र रूपमा बढिरहेका बजारमा टीभीएसले अत्याधुनिक प्रविधिसहितका उत्पादन विस्तार गर्ने रणनीति अघि बढाइरहेको छ ।

त्यसैगरी शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल ले टीभीएस आएक्यूवले नेपाली बजारमा प्राप्त गरेको सफलतालाई अर्बिटरले थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । आधुनिक प्रविधि, लामो रेञ्ज र प्रतिस्पर्धी मूल्यका कारण अर्बिटरले नेपाली विद्युतीय स्कुटर बजारमा बलियो उपस्थिति जनाउने उनको भनाइ थियो ।

footer