Newad1
Featured blog image

बाढी प्रभावित परिवारका लागि एमएडब्लू ग्रुपले दियो एक करोड ११ लाख

काठमाडौं । देशका विभिन्न भागमा आएको आकस्मिक बाढीले जनधन र जीविकोपार्जनमा गम्भीर क्षति पुर्‍याइरहेका बेला निजी क्षेत्रबाट राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुट्ने क्रम बढेको छ ।

एमएडब्लू ग्रुपले बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ योगदान गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लामा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको ग्रुपले जनाएको छ । सहयोग रकम सरकारी कोषमार्फत प्रभावित परिवारको राहत र पुनर्स्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले विपद्का समयमा राष्ट्र र नागरिकको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको बताएका छन् । बाढीबाट परिवारले भोगेको पीडा आर्थिक सहयोगले मेटाउन नसके पनि कठिन अवस्थामा केही राहत पुग्ने विश्वास उनले व्यक्त गरे ।

ग्रुपले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । घर र जीविकोपार्जनका साधन गुमाएका नागरिकप्रति सहानुभूति जनाउँदै राहत तथा उद्धारमा खटिएका सबैलाई धन्यवादसमेत दिएको छ ।

एमएडब्लू ग्रुपले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा पनि नेपाल र नेपाली नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

footer