नेपालमा सार्वजनिक भयो म्याक्सस ईटेरोन ९ कम्फर्ट, ८८ लाखमै पाइने अफर कति दिनसम्म ?
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा विस्तार भइरहेका बेला हिमालय अर्गनाइजेशनअन्तर्गतको हिमालय मोटर्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक पिकअप म्याक्सस ईटेरोन ९ कम्फर्ट नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलो ५० जना ग्राहकका लागि विशेष परिचयात्मक मूल्य रु. ८८ लाख निर्धारण गर्दै नयाँ मोडललाई नेपाली ग्राहकसामु प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार नयाँ म्याक्सस ईटेरोन ९ कम्फर्टलाई शक्तिशाली प्रदर्शन, लामो ड्राइभिङ रेञ्ज, व्यावसायिक उपयोगिता र अफरोड क्षमतालाई प्राथमिकतामा राखेर विकास गरिएको हो । दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा, दुर्गम क्षेत्रमा सञ्चालन तथा व्यवसायिक सामान ढुवानीसम्मका आवश्यकतालाई एउटै मोडलले पूरा गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ ।
यस पिकअपको सबैभन्दा आकर्षक पक्ष यसको १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्याक हो । कम्पनीका अनुसार यो हाल नेपालमा उपलब्ध विद्युतीय सवारीसाधनमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री हो । एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ । साथै १७५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ प्रणालीमार्फत करिब ४२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने सुविधा उपलब्ध छ ।
प्रदर्शनका हिसाबले पनि ईटेरोन ९ कम्फर्ट निकै शक्तिशाली देखिन्छ । अगाडिको एक्सलमा १२५ किलोवाट र पछाडिको एक्सलमा २०० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ । यी दुवै मोटरबाट संयुक्त रूपमा ६०० एनएम टर्क उत्पादन हुन्छ । कम्पनीका अनुसार यो पिकअपले ५.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
हिमालय मोटर्सका प्रतिनिधिका अनुसार म्याक्सस ईटेरोन ९ कम्फर्ट विशेषगरी नेपालको विविध भूगोललाई ध्यानमा राखेर छनोट गरिएको मोडल हो । उच्च हिमाली क्षेत्र, कच्ची सडक, हिलोयुक्त मार्ग तथा दुर्गम भूभागमा समेत सहज रूपमा सञ्चालन गर्न मिल्ने क्षमताका कारण यसले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोगकर्तालाई आकर्षित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
व्यावसायिक उपयोगितालाई समेत प्राथमिकतामा राखिएको यो पिकअपले १,०७५ केजीसम्म सामान बोक्न सक्छ । त्यस्तै ब्रेकसहित ३,५०० केजीसम्म टोइङ क्षमता रहेको कम्पनीले जनाएको छ । यसको कार्गो बक्स १,५६१ मिमि लम्बाइ, १,५०० मिमि चौडाइ र ५३५ मिमि उचाइको रहेको छ, जसले विभिन्न प्रकारका व्यवसायिक सामग्री, उपकरण तथा यात्रा सामग्री सहज रूपमा बोक्न सक्ने क्षमता प्रदान गर्छ ।
अफरोड क्षमताका लागि यसमा अल–टेरेन सिस्टम (एटीएस) समावेश गरिएको छ । यस प्रणालीले विभिन्न सडक अवस्थाअनुसार गाडीको सञ्चालनलाई अनुकूल बनाउने काम गर्छ । कम्पनीका अनुसार यो पिकअप ५५० मिमिसम्म गहिरो पानी पार गर्न सक्षम छ । साथै २९ डिग्री एप्रोच एङ्गल र २५ डिग्री डिपार्चर एङ्गलका कारण कठिन अफरोड मार्गमा पनि सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।
सस्पेन्सन प्रणालीतर्फ अगाडि डबल विशबोन र पछाडि मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ । यसले उबडखाबड नेपाली सडकमा पनि स्थिर र आरामदायी यात्रा अनुभव दिने कम्पनीको दाबी छ ।
भित्री भागमा पाँच यात्रुका लागि प्रशस्त स्थान उपलब्ध गराइएको छ । गाडीमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चकै सेन्ट्रल टचस्क्रिन जडान गरिएको छ । साथै एप्पल कारप्ले, एन्ड्रोइड अटो, अटोमेटिक एयर कन्डिसनिङ, ६–वे इलेक्ट्रिक ड्राइभर सिट, मल्टिफङ्सन माइक्रोफाइबर लेदर स्टेयरिङ ह्विल, पछाडिका यात्रुका लागि एसी भेन्ट, यूएसबी तथा टाइप–सी चार्जिङ पोर्ट, कीलेस इन्ट्री, पुश–स्टार्ट, अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, भेहिकल–टु–लोड (भीटुओएल) सुविधा तथा वन–टच पावर विन्डोजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् ।
सुरक्षाको दृष्टिले पनि म्याक्सस ईटेरोन ९ कम्फर्टले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ । यसले प्रतिष्ठित युरो एनक्यापबाट फाइभ–स्टार सुरक्षा रेटिङ हासिल गरेको कम्पनीले जनाएको छ । यात्रुको सुरक्षाका लागि आवश्यक आधुनिक संरचना र सुरक्षा प्रविधि समावेश गरिएको दाबी कम्पनीको छ ।
हिमालय मोटर्सले बिक्रीपछिको सेवालाई समेत सुदृढ बनाउने रणनीति अपनाएको जनाएको छ । कम्पनीका अनुसार नेपालभरका आठ प्रमुख सहरमा म्याक्ससका आधिकारिक सर्भिस आउटलेटमार्फत ग्राहकलाई मर्मत तथा बिक्रीपछिको सेवा उपलब्ध हुनेछ । पहिलो ५० ग्राहकका लागि उपलब्ध रु. ८८ लाखको परिचयात्मक मूल्य सकिएपछि गाडीको नियमित मूल्य कम्पनीले पछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।