Newad1
Featured blog image

म्याक्ससको ८० लाख बराबरको सहयोग, पाँच सय परिवारलाई स्वच्छ पानीको सुविधा

काठमाडौँ । विपद्ले घरबास र दैनिक जीवन अस्तव्यस्त बनाएपछि अस्थायी आश्रयस्थलमा पुगेका परिवारका लागि तत्काल राहतसँगै लामो समय उपयोग गर्न सकिने खानेपानी सुविधा जुटाइएको छ । सहयोगलाई नगद वितरणमा मात्र सीमित नराखी प्रभावित समुदायको अत्यावश्यक आवश्यकतासँग जोडिएको हो ।

म्याक्सस नेपालले साइक म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा करिब ८० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार कुल सहयोगमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । उक्त रकमको चेक केही दिनअघि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

यसका अतिरिक्त त्रिशूली नदीपारिका विपद् प्रभावित समुदायमा करिब ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग पुर्‍याइएको छ । यसअन्तर्गत अस्थायी आश्रयस्थलमा दुईवटा अल्ट्रा–फिल्ट्रेसन वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्नुका साथै करिब ४०० जनालाई पुग्ने अत्यावश्यक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

राहत सामग्रीमा म्याट्रेस, सिरानी, तन्ना, औषधि तथा प्राथमिक स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामान, भाँडाकुँडा तथा महिला, पुरुष र बालबालिकाका कपडा समावेश थिए ।

दुई विद्यालयमा सोलारबाट चल्ने पानी प्रशोधन प्रणाली

नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा सोलारबाट चल्ने पानी प्रशोधन प्रणाली जडान गरिएको छ । उक्त विद्यालयमा हाल करिब ३०० परिवारले अस्थायी आश्रय लिइरहेको म्याक्सस नेपालले जनाएको छ ।

अर्को प्रणाली विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको छ, जहाँ करिब २०० परिवार अस्थायी रूपमा बसिरहेका छन् । प्रत्येक प्रणालीले प्रतिघण्टा करिब एक हजार लिटर पानी प्रशोधन गर्न सक्ने क्षमता राख्छ ।

यी प्रणालीले आश्रयस्थलमा बसिरहेका परिवारलाई सुरक्षित पिउने पानी उपलब्ध गराउनेछन् । विद्यालयको नियमित पठनपाठन सुरु भएपछि पनि विद्यार्थी र स्थानीय समुदायले यसको लाभ लिन सक्ने भएकाले सहयोगको उपयोग विपद्को तत्कालीन अवस्थापछि समेत जारी रहनेछ ।

राहत वितरण तथा पानी प्रशोधन प्रणाली जडानमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा, संस्थाका कर्मचारी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रमुख गभर्नर रामराजा थापासहितका पदाधिकारी सहभागी भएका थिए ।

म्याक्सस नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारको तत्काल आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन उपयोग हुने पूर्वाधारमा समेत सहयोग गरिएको जनाएको छ ।

footer