एउटै गाडीमा ईभी र प्लग–इन हाइब्रिड, एमजीले ल्यायो हेक्टर टोमाहक
काठमाडौं । नेपाली बजारमा चिनिएको एउटा सातसिटे एसयूभी नयाँ नाम र फरक पावरट्रेनसहित छिमेकी भारत पुगेको छ । मूल्य, रेन्ज र ब्याट्री खरिद गर्ने नयाँ विकल्पका कारण यसको भारतीय प्रवेश नेपाली अटो बजारका लागि समेत चासोको विषय बनेको हो ।
नेपालमा वुलिङ एक्सियनका रूपमा परिचित
मोडलसँग सम्बन्धित उक्त एसयूभी भारतमा ‘एमजी हेक्टर टोमाहक’ नामबाट सार्वजनिक भएको
छ । यसलाई पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड गरी दुई पावरट्रेन विकल्पमा
उतारिएको छ ।
जेएसडब्लू एमजी मोटर इन्डियाले हेक्टर
टोमाहक ईभीको ब्याट्रीसहित सुरुवाती एक्स–शोरुम मूल्य १९ लाख ४९ हजार भारु
निर्धारण गरेको छ । ‘ब्याट्री एज अ सर्भिस’ योजना रोज्ने ग्राहकले भने १३ लाख ९९
हजार भारुबाट गाडी खरिद गर्न सक्नेछन् ।
यो योजनामा ग्राहकले गाडीसँगै
ब्याट्रीको स्वामित्व पाउँदैनन् । सुरुमा कम मूल्य तिरेर गाडी खरिद गर्न सकिए पनि
ब्याट्री प्रयोग गरेबापत छुट्टै शुल्क बुझाउनुपर्छ । त्यसैले १३ लाख ९९ हजार
भारुको मूल्यलाई ब्याट्रीसहित उपलब्ध गाडीको मूल्यसँग सीधै तुलना गर्न मिल्दैन ।
हेक्टर टोमाहक ईभीमा ६९.२ किलोवाट आवर
क्षमताको ब्याट्री र १५० किलोवाटको मोटर दिइएको छ । मोटरले करिब २०४ हर्सपावर
शक्ति उत्पादन गर्छ । कम्पनीले एमआईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ५१७
किलोमिटरसम्म गुड्ने दाबी गरेको छ ।
थ्री–रो सिट संरचना भएको यो एसयूभीमा
सात जनाले यात्रा गर्न सक्छन् । ठूलो ब्याट्री, फराकिलो क्याबिन र पाँच सय
किलोमिटरभन्दा बढीको दाबी गरिएको रेन्जलाई यसको मुख्य विशेषता बनाइएको छ ।
पेट्रोल
र चार्ज भरेपछि १,१०० किमीभन्दा बढी
हेक्टर टोमाहकको प्लग–इन हाइब्रिड
संस्करणसमेत भारतमा सार्वजनिक भएको छ । यसमा १.५ लिटर पेट्रोल इन्जिनसँगै २०.५
किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।
कम्पनीको दाबीअनुसार ब्याट्री पूर्ण
चार्ज हुँदा यो एसयूभी पेट्रोल प्रयोग नगरी ११५ किलोमिटरभन्दा बढी गुड्न सक्छ ।
ब्याट्री र पेट्रोल ट्याङ्की दुवै पूर्ण अवस्थामा यसको संयुक्त रेन्ज १ हजार १००
किलोमिटरभन्दा बढी पुग्ने बताइएको छ ।
प्लग–इन हाइब्रिड संस्करणको ब्याट्रीसहित
सुरुवाती एक्स–शोरुम मूल्य २५ लाख ७० हजार भारु हाराहारी राखिएको छ । ब्याट्री
भाडामा लिने योजनामा भने यसको मूल्य करिब २१ लाख ८० हजार भारुबाट सुरु हुन्छ ।
यो संस्करणलाई दैनिक सहरी यात्रामा
ईभीका रूपमा चलाउन सकिन्छ । लामो यात्रामा ब्याट्रीको चार्ज सकिएपछि पेट्रोल
इन्जिनले गाडीलाई निरन्तर चलाउँछ । नियमित चार्जिङ सुविधा चाहने तर लामो यात्रामा
रेन्जको चिन्ता गर्न नचाहने ग्राहकका लागि यस्तो पावरट्रेन उपयोगी हुन सक्छ ।
नेपालका
लागि किन चासोको विषय ?
एमजी र वुलिङ दुवै चीनको एसएआईसी मोटर
समूहसँग जोडिएका ब्रान्ड हुन् । एउटै उत्पादन परिवारसँग सम्बन्धित गाडीलाई
बजारअनुसार फरक ब्रान्ड, नाम, फिचर र पावरट्रेनमा बिक्री गर्ने रणनीति कम्पनीले
अपनाएको देखिन्छ ।
नेपालमा पूर्ण विद्युतीय गाडीको बजार
विस्तार भइरहे पनि सबै राजमार्गमा चार्जिङ पूर्वाधार समान रूपमा विकास भइसकेको छैन
। यस्तो अवस्थामा १०० किलोमिटरभन्दा बढी शुद्ध विद्युतीय रेन्ज र लामो यात्राका
लागि पेट्रोल इन्जिन भएको प्लग–इन हाइब्रिडले नयाँ विकल्प दिन सक्छ ।
यद्यपि नेपालमा यस्तो गाडीको सम्भावना
कर संरचना, अन्तिम मूल्य, बिक्रीपछिको सेवा र आधिकारिक विक्रेताको योजनामा निर्भर
हुनेछ । भारतमा घोषणा गरिएको मूल्यलाई मुद्रा रूपान्तरण गरेर मात्र नेपाली
मूल्यसँग तुलना गर्न मिल्दैन । नेपालमा भन्सार, कर, ढुवानी, बिमा र वितरक खर्च
जोडिएपछि मूल्यमा ठूलो अन्तर आउन सक्छ ।
नेपालमा वुलिङ एक्सियनसँग जोडिएको एसयूभी भारतमा एमजी हेक्टर टोमाहक बनेर ईभी र प्लग–इन हाइब्रिड दुवै विकल्पमा आउनुले एउटा नयाँ बहस भने सुरु गरेको छ—नेपालजस्तो बजारका लागि लामो रेन्जको ईभी उपयुक्त कि पेट्रोलको साथ नछोड्ने प्लग–इन हाइब्रिड ?