नेपाल आउँदै एमजी हेक्टर टोमाहक, वेबसाइटमा ‘कमिङ सुन’
काठमाडौं । एमजीको नयाँ हेक्टर टोमाहक नेपाल आउने भएको छ । एमजी नेपालको आधिकारिक वेबसाइटले यो एसयूभीलाई ‘न्यु अराइभल–कमिङ सुन’ का रूपमा राख्दै यसको नेपाल आगमनको संकेत दिएको हो । वेबसाइटमा मोडलका लागि छुट्टै पेजसमेत तयार गरिएको छ, तर मूल्य, भेरियन्ट र सार्वजनिक हुने मितिबारे जानकारी दिइएको छैन । एमजी मोटर नेपालले पूर्ण स्पेसिफिकेसन चाँडै सार्वजनिक गरिने उल्लेख गरेको छ ।
भारतमा जेएसडब्लू एमजी मोटरले हेक्टर टोमाहकलाई शुद्ध विद्युतीय र प्लग–इन हाइब्रिड दुवै संस्करणमा सार्वजनिक गरेको छ । यसको ईभी संस्करणमा ६९.२ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर प्रयोग गरिएको छ । मोटरले ३१० एनएम टर्क उत्पादन गर्छ भने कम्पनीले एकपटकको चार्जमा ५१७ किलोमिटर रेन्ज दिने दाबी गरेको छ । यो कम्पनीले उल्लेख गरेको प्रमाणित रेन्ज हो; वास्तविक सडक रेन्ज प्रयोग र वातावरणअनुसार फरक हुन सक्छ ।
पाँच र सात सिट दुवै विकल्पमा उपलब्ध हेक्टर टोमाहक ईभीले ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आठ इन्चको ड्राइभर डिस्प्ले, लेभल–२ एडास र ८० भन्दा बढी कनेक्टेड फिचर समावेश छन् । यो एमजीको विभिन्न विद्युतीकृत पावरट्रेन समेट्न सक्ने ‘एडाप्ट’ प्लेटफर्ममा तयार भएको मोडल हो ।
एमजी नेपालको वेबसाइटमा अहिले मोडलको नाम ‘एमजी हेक्टर टोमाहक’ मात्र राखिएको छ; ईभी वा प्लग–इन हाइब्रिडमध्ये नेपालमा कुन पावरट्रेन आउने हो भन्ने स्पष्ट उल्लेख छैन । त्यसैले यसको नेपाली भेरियन्ट, ब्याट्री, रेन्ज, सिट संरचना, मूल्य र बिक्री सुरु हुने मिति आधिकारिक घोषणापछि मात्रै निश्चित हुनेछ । नेपालमा एमजीका सवारी जीओ अटोमोबाइल्सले बिक्री गर्दै आएको छ ।