एडभान्स सुरक्षादेखि भेइकल टु लोडसम्म, एमजी यू९ मा के–के छन् सुविधा ?
काठमाडौँ । नेपाली बजारमा विद्युतीय गाडीको रोजाइ बढ्दै जाँदा अब केवल सहरभित्रको यात्राका लागि मात्र होइन, भारी काम, लामो यात्रा र पारिवारिक उपयोगलाई समेत ध्यानमा राखेर नयाँ मोडल भित्रिने क्रम तीव्र बनेको छ । यही परिवेशमा एउटा शक्तिशाली र विलासी विद्युतीय पिकअपले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विशेष चासो बटुल्ने संकेत देखिएको छ ।
एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम लाइफस्टाइल पिकअप ‘यू९’ नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले उक्त मोडल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने जनाएको छ ।
नेपालको पिकअप बजारमा हालसम्म डिजेल इन्जिनयुक्त मोडलको प्रभाव बलियो रहेकामा यू९ को आगमनले विद्युतीय विकल्पप्रतिको बहसलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ । विशेषगरी व्यवसाय, साहसिक यात्रा, फार्महाउस, होटल व्यवसाय तथा अफरोड यात्रालाई एउटै गाडीबाट सहज बनाउन चाहने ग्राहकलाई यो मोडल आकर्षक विकल्प बन्न सक्छ ।
यू९ मा १०२.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । डुअल मोटर संयोजनबाट यसले ३२५ किलोवाटसम्म पावर उत्पादन गर्छ । कम्पनीका अनुसार यो पिकअपले एकपटक पूर्ण चार्जमा डब्लुएलटीपी मापदण्डअनुसार ४३० किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा १८० किलोमिटर रहेको छ ।
चार्जिङका लागि यसमा डिसी फास्ट चार्जिङ सुविधा रहनेछ । लामो दूरीको यात्रा तथा व्यावसायिक प्रयोगमा चार्जिङ समय महत्वपूर्ण हुने भएकाले यस पक्षलाई नेपाली ग्राहकले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
आकारका हिसाबले यू९ निकै ठूलो डबल क्याब पिकअप हो । यसको लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम र उचाइ १८६० एमएम रहेको छ । ३३०० एमएम ह्वीलबेस र २२० एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई राजमार्गदेखि ग्रामीण तथा केही कठिन सडकसम्म उपयोगी बनाउन सक्छ । गाडीमा २० इन्चका ह्वील दिइएका छन् ।
कामकाजी क्षमता पनि यू९ को मुख्य विशेषता हो । यसले ११०० केजीसम्म सामान बोक्न सक्ने तथा ३५०० केजीसम्म तान्ने क्षमता राख्छ । त्यसैले ट्रेलर, व्यावसायिक सामग्री वा मनोरञ्जनात्मक उपकरण बोक्ने ग्राहकका लागि यो उपयोगी हुन सक्छ ।
भित्रबाट भने यू९ सामान्य पिकअपजस्तो देखिँदैन । यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आठ स्पिकरयुक्त जेबीएल अडियो प्रणाली र ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध गराइएको छ । फ्ल्यागसिप भेरियन्टमा चालक सिटका लागि आठतर्फी इलेक्ट्रोनिक समायोजन, भेन्टिलेसन, मसाज र मेमोरी सुविधा समेत रहनेछ ।
सुरक्षामा पनि कम्पनीले कुनै कसर बाँकी नराखेको दाबी गरेको छ । यू९ मा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टजस्ता एडभान्स ड्राइभर असिस्ट प्रणाली समावेश छन् ।
यसमा रहेको भेइकल टु लोड प्रविधि अर्को उपयोगी पक्ष हो । यसमार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ । क्याम्पिङ, बाहिरी कार्यक्रम वा विद्युत् आपूर्ति सीमित हुने स्थानमा यो सुविधा उपयोगी बन्न सक्छ ।
नेपालमा विद्युतीय एसयूभीको बजार विस्तार भइरहेका बेला प्रिमियम विद्युतीय पिकअपको प्रवेशले सेग्मेन्टलाई थप प्रतिस्पर्धी बनाउने देखिन्छ । नाइमा एक्स्पोमा यू९ को नेपाली मूल्य, उपलब्ध भेरियन्ट र बुकिङसम्बन्धी विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।