व्यावसायिक फ्लीटमा एमजीको ठूलो सम्झौता, ई–ड्राइभलाई ५० विन्डसर
काठमाडौँ । राजधानीको राइड–सेयरिङ सेवामा अब यात्रुले अर्को नयाँ विद्युतीय गाडीको अनुभव लिन पाउने भएका छन् । निजी प्रयोगमा तीव्र रूपमा फैलिएको विद्युतीय सवारीको आकर्षण व्यावसायिक यात्रु सेवामा पनि बलियो बन्दै जाँदा ठूलो संख्यामा एउटै मोडल सडकमा उतार्ने तयारी भएको हो ।
विद्युतीय राइड–सेयरिङ सेवा प्रदायक ई–ड्राइभ नेपालले आफ्नो फ्लीटमा ५० वटा एमजी विन्डसर कम्युट ईभी समावेश गर्ने भएको छ । यससम्बन्धी सम्झौताअन्तर्गत पहिलो चरणमा १६ वटा गाडी हस्तान्तरण गरिएको छ ।
जेएसडब्ल्यू एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले बिहीबार ती गाडी ई–ड्राइभलाई हस्तान्तरण गरेको हो । बाँकी गाडी पनि सम्झौताअनुसार क्रमशः उपलब्ध गराइनेछन् ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस सम्झौताले नेपालको व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय सवारीप्रतिको विश्वास बढिरहेको देखाएको बताए । आराम, प्रविधि र सञ्चालन दक्षताको संयोजनका कारण विन्डसर आधुनिक फ्लीटका लागि उपयोगी हुने उनको भनाइ छ ।
एमजी विन्डसरमा ३८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसको मोटरले १०० किलोवाट शक्ति र २०० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले एकपटकको पूर्ण चार्जमा ३३० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरेको छ ।
गाडीमा द्रुत चार्जिङ सुविधा, १३५ डिग्रीसम्म पछाडि ढल्काउन मिल्ने एरो–लाउन्ज सिट र १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध छ । यी विशेषताले दैनिक लामो समय सञ्चालन हुने राइड–सेयरिङ सेवामा चालक र यात्रु दुवैलाई सहजता दिने अपेक्षा गरिएको छ ।
यसको उच्च भोल्टेज मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ । व्यावसायिक प्रयोगका लागि बाँकी सवारीमा ३ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ई–ड्राइभ नेपालले यी गाडीमार्फत यात्रुलाई आरामदायी, किफायती र शून्य टेलपाइप उत्सर्जनयुक्त सेवा दिने जनाएको छ । जीओ अटोमोबाइल्सले पनि आफ्नो सर्भिस नेटवर्कबाट आवश्यक स्पेयर पार्ट्स र मर्मतसम्भार सेवा उपलब्ध गराउने बताएको छ ।
सन् २०२२ देखि सञ्चालनमा आएको ई–ड्राइभले काठमाडौँ उपत्यकाबाट विद्युतीय राइड–सेयरिङ सेवा सुरु गरेको थियो । ५० वटा विन्डसर थपिएपछि कम्पनीको सेवा क्षमता विस्तार हुनुका साथै नेपालमा व्यावसायिक फ्लीट विद्युतीकरणको गति पनि बढ्ने देखिएको छ ।