इन्धन खर्चबाट छुटकारा चाहनेका लागि एमजीको नयाँ अफर, दैनिक ५२० रुपैयाँमै ईभी
काठमाडौं । विद्युतीय सवारीसाधनलाई अझ धेरै नेपालीको पहुँचमा पुर्याउने उद्देश्यसहित एमजी ब्रान्डको आधिकारिक वितरक जी.ओ अटोमोबाइल्स प्रा.लि.ले एमजी कमेट ईभीका लागि नयाँ किस्ता योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअनुसार ग्राहकले दैनिक ५२० रुपैयाँ बराबरको किस्ता तिरेर यो विद्युतीय ह्याचब्याक आफ्नै बनाउन सक्नेछन् ।
कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार दैनिक ५२० रुपैयाँको हिसाबले मासिक १५ हजार ५३५ रुपैयाँ किस्ता तिर्दै एमजी कमेट ईभी खरिद गर्न सकिनेछ । पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले प्रारम्भिक ठूलो लगानीको बाधा कम गर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।
जी.ओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारी खरिदलाई सर्वसाधारणका लागि अझ सहज बनाउने लक्ष्यका साथ नयाँ फाइनान्स सुविधा ल्याइएको बताए । उनका अनुसार एकमुष्ट ठूलो रकम जुटाउन नसक्ने ग्राहकलाई दैनिक खर्चकै आधारमा किस्ता तिर्न सकिने व्यवस्था प्रभावकारी विकल्प बन्न सक्छ ।
एमजी कमेट ईभी मुख्यतः काठमाडौं उपत्यकाजस्ता भीडभाड र साँघुरा सडक भएका शहरी क्षेत्रलाई लक्षित गरेर विकास गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जनासम्म सहज रूपमा यात्रा गर्न मिल्ने यो गाडी कार्यालय आवतजावत, दैनिक किनमेल तथा छोटो दूरीका नियमित यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
हाल एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यसमा १७.३ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यो गाडीले एआरएआई प्रमाणित २३० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
नेपालमा पछिल्ला केही वर्षयता इन्धनको बढ्दो लागत, चार्जिङ पूर्वाधारको विस्तार र सरकारी कर नीतिका कारण साना विद्युतीय सवारीको माग निरन्तर बढिरहेको छ । विशेषगरी पहिलोपटक कार खरिद गर्ने युवा, साना परिवार तथा दैनिक शहरी प्रयोगकर्ताबीच कम्प्याक्ट ईभीको लोकप्रियता विस्तार हुँदै गएको देखिन्छ ।
मूल्यसँगै सहज फाइनान्स योजना पनि ग्राहकको निर्णयमा महत्वपूर्ण पक्ष बन्दै गएको छ । त्यसैले दैनिक वा मासिक खर्चसँग तुलना गर्न मिल्ने किस्ता योजनाले विद्युतीय सवारी रोज्ने नयाँ ग्राहक थप आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ ।
एमजीले ल्याएको यो योजना नेपाली बजारमा विद्युतीय सवारीको पहुँच विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि हेरिएको छ । आगामी दिनमा अन्य ब्रान्डहरूले पनि यस्तै किस्ता तथा फाइनान्स योजनालाई प्राथमिकता दिए प्रतिस्पर्धा थप तीव्र हुने र अन्ततः त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले पाउने अपेक्षा गरिएको छ ।