५०५ किलोमिटर रेन्जको एमहिरो, नेपाली बजारमा कहिलेदेखि आउँछ ?
काठमाडौँ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा एउटा फरक शैलीको एसयूभीले दर्शकको पाइला रोकिरहेको छ । सैन्य सवारीको झल्को दिने आक्रामक डिजाइन, विशाल आकार र असाधारण क्षमताका कारण यो गाडी प्रदर्शनीको चर्चित मोडलमध्ये एक बनेको हो ।
एमएडब्ल्यू वृद्धिको स्टलमा राखिएको उक्त गाडी डोङफेङ मोटर कर्पोरेसनले उत्पादन गरेको प्योर इलेक्ट्रिक लक्जरी एसयूभी एमहिरो १ हो । कम्पनीले यसलाई हाल प्रदर्शनका लागि ल्याएको हो भने नेपालमा औपचारिक बिक्री सन् २०२७ जनवरीदेखि सुरु गर्ने जनाएको छ ।
एमहिरो १ मा चारवटा इलेक्ट्रिक मोटर जडान गरिएका छन् । ती मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १०८८ हर्सपावर र १४०० एनएम टर्क उत्पादन गर्छन् । यही शक्तिका कारण गाडीले ४.२ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ ।
गाडीमा १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्म रेन्ज दिन्छ ।
एमहिरो १ को अर्को बलियो पक्ष यसको अफरोड क्षमता हो । यसमा प्रयोग भएको एडजस्टेबल एयर सस्पेन्सनले ग्राउन्ड क्लियरेन्सलाई आवश्यकता र सडकको अवस्थाअनुसार २३० एमएमदेखि ३३५ एमएमसम्म परिवर्तन गर्न सक्छ । गाडीले ९०० एमएम गहिरो पानीसमेत पार गर्न सक्ने कम्पनीको दाबी छ ।
उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली मोटर र पानी छिचोल्ने क्षमताले एमहिरो १ लाई नेपालको विविध भूगोलमा सम्भावना भएको मोडलका रूपमा उभ्याएको छ । यद्यपि यसको मूल्य, उपलब्ध भेरियन्ट, बिक्रीपछिको सेवा र नेपालका लागि तय हुने विस्तृत स्पेसिफिकेसन सार्वजनिक हुन बाँकी छ ।
बाहिरी स्वरूप जस्तै यसको क्याबिन पनि प्रविधि र सुविधामा केन्द्रित छ । ड्यासबोर्डमा चालकका लागि १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, बीचमा १५.६ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन र अगाडिको यात्रुका लागि १२.३ इन्चको छुट्टै स्क्रिन दिइएको छ । गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमसँगै विभिन्न ड्राइभिङ मोड पनि उपलब्ध छन् ।
एमहिरो १ बाहेक एमएडब्ल्यू वृद्धिले नामी भिगो ई२, एभाटार ०७, नेभो क्यु ०५ र फोटोन ई–टुनल्यान्ड इलेक्ट्रिक पिकअप पनि प्रदर्शनमा राखेको छ । नामी भिगो ई२ को नाडा मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोक्दै बुकिङ खुला गरिएको छ ।