Newad1
Featured blog image

डीपलसँगको सहकार्यमा मिस युनिभर्स नेपाल २०२६, काठमाडौं अडिसन सम्पन्न

काठमाडौं । आत्मविश्वास, व्यक्तित्व र आफ्नै पहिचानलाई प्रस्तुत गर्दै देशका विभिन्न भागबाट आएका युवतीहरू बिहीबार राजधानीमा एउटै मञ्चमा उभिए । उद्देश्य थियो, राष्ट्रिय ताजसम्म पुग्ने यात्रामा आफूलाई अर्को चरणका लागि योग्य साबित गर्नु ।

डीपलको शीर्ष प्रायोजनमा आयोजना भइरहेको मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं ग्रान्ड अडिसनमा देशभरको छनोट प्रक्रियाबाट आएका ६५ जनाले सहभागिता जनाएका छन् । उनीहरूमध्ये २५ जना प्रतियोगीलाई अर्को चरणका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

यस वर्ष प्रतियोगिताले ‘पर्फेक्ट एज यु आर’ अर्थात् आफू जस्तो हुनुहुन्छ, त्यही रूपमा पूर्ण हुनुहुन्छ भन्ने भावलाई मुख्य विषय बनाएको छ । सौन्दर्यको एउटै मापदण्ड पछ्याउनुभन्दा व्यक्तित्व, आत्मविश्वास र आफ्नो वास्तविक पहिचानलाई स्वीकार गर्न प्रोत्साहित गर्नु यसको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

अडिसनका क्रममा निर्णायकहरूले प्रतियोगीको बाहिरी प्रस्तुतिसँगै आत्मविश्वास, व्यक्तित्व, संवाद क्षमता र मञ्चमा देखिने उपस्थितिलाई मूल्यांकन गरेका थिए ।

कार्यक्रमको आयोजना ग्लोबल ग्ल्यामर भेन्चर प्रालिले गरेको हो भने अटोमोबाइल ब्रान्ड डीपल यस संस्करणको शीर्ष प्रायोजकका रूपमा जोडिएको छ ।

डीपलका प्रबन्ध निर्देशक विवेक सिकरियाले मानिसलाई कुनै निश्चित ढाँचामा ढाल्नु नभई आफ्नै पहिचानप्रति आत्मविश्वासी बन्न प्रेरित गर्ने प्रतियोगिताको अवधारणासँग डीपलको सोच मेल खाने बताए ।

त्यस्तै, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले प्रतियोगितालाई ताज जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी सहभागीलाई आफ्नो आवाज र क्षमता देखाउने अवसर दिने मञ्चका रूपमा विकास गरिएको बताइन् ।

काठमाडौं चरण पूरा भएसँगै अब सहभागीमध्ये उत्कृष्ट २५ को छनोट गरी प्रतियोगितालाई अर्को चरणमा प्रवेश गराइनेछ । त्यसपछि विभिन्न चरण पार गर्दै अन्तिम विजेता छनोट हुनेछ ।

मिस युनिभर्स नेपाल २०२६ को विजेताले अन्तर्राष्ट्रिय मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ ।

footer