Newad1
Featured blog image

नेपाली भूगोलमै परीक्षण गरिएको ‘सुपर अटो’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । पेट्रोलबाट चल्ने तीनपांग्रे सवारीको विकल्प खोजिरहेका चालक तथा यातायात व्यवसायीका लागि नेपाली बजारमा नयाँ विद्युतीय विकल्प थपिएको छ । पहाडी भूगोल र उकालो सडकलाई ध्यानमा राखेर तयार गरिएको यो सवारीले व्यावसायिक यातायातमा चासो जगाउने देखिएको छ ।

भारतीय विद्युतीय व्यावसायिक सवारी ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले यात्रुवाहक तीनपांग्रे ‘सुपर अटो’ सार्वजनिक गर्दै नेपालमा औपचारिक प्रवेश गरेको हो । कम्पनीका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय बजारसमेत बनेको छ ।

नेपालमा हिप्को ट्रेडिङले बिक्रीवितरण गर्ने सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसको बनोट र क्षमता निर्धारण गर्नुअघि नेपालका सडक तथा विभिन्न भूभागमा परीक्षण गरिएको थियो ।

सुपर अटोमा ९ किलोवाट आवर क्षमताको ब्याट्री र स्थायी चुम्बकीय विद्युतीय मोटर जडान गरिएको छ । मोटरले ६० न्युटन मिटर टर्क उत्पादन गर्छ । एकपटक पूर्ण चार्ज गर्दा यसले १५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

यसको अधिकतम गति प्रतिघण्टा ५५ किलोमिटर छ भने ब्याट्री पूर्ण चार्ज गर्न करिब चार घण्टा ३० मिनेट लाग्छ । सडकको अवस्था र यात्रुको भारअनुसार चलाउन मिल्ने विभिन्न ड्राइभिङ मोड पनि दिइएको छ ।

नेपालका उकालो र घुमाउरा सडकलाई ध्यानमा राख्दै यसमा ३२ प्रतिशत ग्रेड चढ्न सक्ने क्षमता उपलब्ध छ । उकालोमा रोकिएपछि सवारी पछाडि सर्न नदिने हिल होल्ड असिस्टले चालकलाई थप सहज बनाउनेछ ।

पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फराकिलो सिट, पर्याप्त हेडरुम तथा लेगरुम यसका अन्य प्रमुख विशेषता हुन् । छाना र अगाडिको सिसाको बनोटलाई विभिन्न मौसममा चालक तथा यात्रुलाई सहज हुने गरी तयार गरिएको कम्पनीले जनाएको छ ।

विद्युतीय तीनपांग्रेले पेट्रोलको खर्च घटाउनुका साथै नियमित मर्मतसम्भारमा लाग्ने रकमसमेत कम गर्न सक्छ । विशेषगरी दैनिक धेरै दूरी गुड्ने यात्रुवाहक सवारीमा सञ्चालन खर्चको अन्तर व्यवसायीका लागि महत्त्वपूर्ण हुन सक्छ ।

हिप्को ट्रेडिङले बिक्रीसँगै मर्मत सेवा, जगेडा पार्टपुर्जा र ग्राहक सहायता उपलब्ध गराउन देशभर सञ्जाल विस्तार गर्ने जनाएको छ । आगामी दिनमा मोन्ट्राका अन्य विद्युतीय व्यावसायिक सवारीसमेत नेपाली बजारमा ल्याउने कम्पनीको योजना छ ।

footer