कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल, स्टिकर हटाउनबाट प्रक्रिया सुरु गर्न सुझाव
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारीसाधनमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने विषयमा छलफल भएको छ ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा विस्तृत छलफल गरेको हो ।
छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले सवारीसाधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ता तथा विक्रेताले सवारी खरिदकर्तालाई यसबारे स्पष्ट जानकारी गराउन आग्रह गरे । साथै, कालो सिसा प्रयोग गर्नुपर्ने विशेष अवस्थामा सरकारको अनिवार्य अनुमति आवश्यक पर्ने र उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएका सवारीसाधन आयात नगर्न समेत उनले सुझाव दिए ।
नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारीमा प्रयोग भएका कालो स्टिकर (फिल्म) हटाउन प्राविधिक रूपमा सहज हुने भएकाले पहिलो चरणमा त्यहीबाट अभियान सुरु गर्न उपयुक्त हुने धारणा राखे ।
त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या धेरै नरहेको भन्दै त्यसको तथ्यांक यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने बताए ।
ट्राफिक प्रहरीको लिखित अनुरोधपछि भएको उक्त छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिलगायत पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।