नाडा अटो शो २०२६ किन हुँदैछ विशेष ? स्वदेशी उत्पादनदेखि स्मार्ट मोबिलिटीसम्म
काठमाडौं । नयाँ गाडी हेर्ने, बजारमा भित्रिँदै गरेका प्रविधि नजिकबाट बुझ्ने र अटोमोबाइल क्षेत्रको बदलिँदो स्वरूप एउटै थलोमा अनुभव गर्ने अवसर फेरि आउँदैछ । यसपटकको प्रदर्शनी भने विगतका संस्करणभन्दा केही फरक देखिने तयारी छ, जहाँ सवारीसाधनसँगै स्वदेशी उत्पादन र आधुनिक रोबोटले समेत दर्शकको ध्यान तान्नेछन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्षलाई स्वर्ण उत्सवका रूपमा मनाउँदै भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्दैछ ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । मेलामा २३ ब्रान्डका प्यासेन्जर सवारी, १७ ब्रान्डका हलुका व्यावसायिक सवारी र १३ ब्रान्डका दुईपांग्रे सवारी सहभागी हुनेछन् ।
यससँगै वित्तीय तथा बीमा सेवा, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, एसेसरिज, ग्यारेज उपकरण र अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवासमेत प्रदर्शनीमा समेटिनेछन् ।
यसपटक नाडाले स्वदेशी उत्पादनलाई छुट्टै पहिचान दिने तयारी गरेको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ अवधारणाअन्तर्गत नेपालमै उत्पादन तथा एसेम्बल गरिएका सवारीसाधन र अटोमोबाइल सामग्रीका लागि विशेष प्रदर्शनी क्षेत्र तयार गरिनेछ ।
अटोमोबाइलसँगै प्रविधिमा रुचि राख्ने दर्शकका लागि पनि यस वर्षको प्रदर्शनी रोचक हुने देखिन्छ । मेलामा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रयुपेड रोबोट प्रदर्शन गरिनेछ । विभिन्न ब्रान्डका नयाँ मोडलसँगै स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीसम्बन्धी छलफल तथा सिम्पोसियमसमेत आयोजना गर्ने तयारी छ ।
अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार ५०औँ वर्षको अवसर भएकाले यसपटक प्रदर्शनीलाई स्वर्ण उत्सव संस्करणका रूपमा थप विशेष बनाइएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पनि अटो शो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले पछिल्लो पाँच दशकमा गरेको यात्रा र आगामी सम्भावना देखाउने माध्यम बन्ने बताएका छन् ।
दर्शकको आवागमन सहज बनाउन नेपाल पुलिस क्लब र नेसनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था गरिनेछ । ती स्थानबाट भृकुटीमण्डपसम्म सटल बस सञ्चालन गर्ने तयारीसमेत आयोजकको छ ।
मेलास्थलमा सीसीटीभी निगरानी, अपाङ्गतामैत्री ह्वीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क रहनेछन् । अग्रिम टिकट खल्तीमार्फत लिन सकिने व्यवस्था गरिएको छ ।
नाडाले छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब दुई लाख दर्शक पुग्ने अपेक्षा गरेको छ । ५० वर्षको यात्रालाई सम्झाउने स्वर्ण उत्सव, स्वदेशी उत्पादनको छुट्टै प्रस्तुति, नयाँ सवारी मोडल र रोबोटसहितका आधुनिक प्रविधिले यसपटकको नाडा अटो शोको दायरा गाडीको किनबेचभन्दा फराकिलो बनाउने देखिएको छ ।