बाढीको पीडाबीच चलेको नाडा अटो शो आज समापन हुँदै
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज सकिँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित १८औँ संस्करण भदौ ९ देखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।
करिब
तीन लाख वर्गफिट क्षेत्रमा फैलिएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल छन् । शोमा २३
यात्रुवाहक, १७ हलुका व्यावसायिक र १३ दुईपाङ्ग्रे सवारी ब्रान्डसँगै बैंक, बीमा,
टायर, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा पार्टपुर्जा कम्पनी सहभागी छन् ।
यस वर्ष विद्युतीय सवारीको स्पष्ट दबदबा देखिएको छ । बीवाईडी एट्टो २ सुपेरियर, टाटा सिएरा ईभी, दिपल नेभो क्यू०५, चेरी क्यू, जेइकु जे५, नामी बक्स ई२, डङफेङ ईपाई ००७, स्काइवेल बीई११, अवतार ०७ र लिपमोटर सी१० लगायत नयाँ मोडल शोका प्रमुख आकर्षण बनेका छन् ।
आयातित
सवारीको भीडमा नेपालमै विकास तथा एसेम्बल गरिएको यात्री पी२ इलेक्ट्रिक स्कुटरले
विशेष ध्यान तानेको छ । यामाहा एक्सएसआर १५५, अप्रिलिया एसआर १७५ र रिभोल्ट
आरभीएक्ससहित विभिन्न मोटरसाइकल तथा स्कुटर पनि सार्वजनिक गरिएका छन् ।
व्यावसायिक
सवारीतर्फ ३१ सिटे हाइगर भी–सिरिज इलेक्ट्रिक कोच र १४ सिटे होराइजन भी७ई
इलेक्ट्रिक भ्यान प्रदर्शनमा छन् । जी–१ ह्युमानोइड तथा गो–२ क्वाड्रपेड रोबोट पनि
दर्शकका लागि नयाँ आकर्षण बनेका छन् ।
नाडामा गाडी कम्पनीसँगै बैंकहरूबीच पनि अटो लोनको प्रतिस्पर्धा देखिएको छ । सहभागी बैंकले ४.६६ प्रतिशतबाट सुरु हुने ब्याजदर, घटाइएको सेवा शुल्क तथा ईभीका लागि विशेष कर्जा सुविधा ल्याएका छन् ।
शो
चलिरहेकै बेला रसुवासहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीले अटो क्षेत्रलाई
पनि प्रभावित बनाएको छ । नाडाले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप
उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बीवाईडी र साइमेक्स
इन्कले पनि सात करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् ।
नाडा विशेष मूल्य, छुट, एक्सचेन्ज बोनस र कर्जा सुविधा प्रयोग गर्दै विभिन्न ब्रान्डका सवारी खरिद वा बुकिङ गर्ने आज अन्तिम अवसर हुनेछ । शो बिहान १०ः३० देखि साँझ ६ः३० बजेसम्म सञ्चालन हुनेछ ।