बाढीपीडितका लागि नाडाद्वारा राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडित नागरिकका लागि विभिन्न राहत सामग्री वितरण गरेको छ ।
नाडाले उपलब्ध गराएको राहत सामग्री असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
राहत सामग्री हस्तान्तरणका लागि नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा नाडाको प्रतिनिधिमण्डल नुवाकोट पुगेको थियो ।
भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री प्रदान गरिएको नाडाले जनाएको छ ।
यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो ।
नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै यस्ता विपद्का समयमा आफ्नो क्षमताअनुसार आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।