रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, उद्धारमा सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं । रसुवामा आएको भीषण बाढीले उत्तरी नाकासँग जोडिएको व्यापारिक गतिविधिमा गम्भीर असर पुर्याएको छ । सडक, पुल र भन्सार पूर्वाधारमा भएको क्षतिले सवारीसाधनको आयात तथा आपूर्ति शृङ्खला नै प्रभावित हुने चिन्ता बढेको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अटोमोबाइल व्यवसाय, सवारीसाधन र व्यापारिक सम्पत्तिमा पुगेको क्षतिको तत्काल मूल्याङ्कन गर्न सरकारसँग माग गरेको छ ।
रसुवा–केरुङ नाका नेपालमा चीनबाट सवारीसाधन भित्रिने प्रमुख व्यापारिक मार्ग हो । नाडाका सदस्य तथा अटोमोबाइल व्यवसायीका गाडी र अन्य सामान भन्सार क्षेत्रमा रहे पनि तिनको अवस्थाबारे यकिन विवरण प्राप्त भइनसकेको नाडाले जनाएको छ ।
बाढीले सडक, पुल, भन्सार र अन्य व्यापारिक संरचनामा क्षति पुर्याएकाले त्यसको प्रत्यक्ष असर सवारी आयात तथा आपूर्ति व्यवस्थामा पर्न सक्ने नाडाको भनाइ छ । प्रभावित सडक र यातायात पूर्वाधार शीघ्र पुनःस्थापना गरी रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधि सहज बनाउन पनि संस्थाले आग्रह गरेको छ ।
नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान र मूल्याङ्कनसँगै बिमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रिया सरल र छिटो बनाउनुपर्ने माग राखेको छ । प्रभावित व्यवसायीको यथार्थ विवरण सङ्कलन गरी आवश्यक सहजीकरण गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न नाडा तयार रहेको पनि उनले जनाएका छन् ।
नाडाले बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोज, प्रभावितको उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिन आग्रह गरेको छ ।