नागढुंगा–सिस्नेखोला सुरूङमार्ग: शुल्कदेखि सुरक्षासम्मका सबै महत्वपूर्ण जानकारी
काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक मानिने नागढुंगाको लामो ट्राफिक जाम अब विगत बन्ने अपेक्षासँगै नयाँ अध्याय सुरु हुँदैछ । वर्षौंको प्रतीक्षापछि सञ्चालनमा आउन लागेको नेपालको पहिलो सडक सुरूङमार्गले यात्रा सहज बनाउने विश्वास गरिएको छ । तर, यो सुरूङमार्ग प्रयोग गर्नुअघि हरेक चालक र यात्रुले केही महत्वपूर्ण नियम तथा व्यवस्थाबारे जानकारी राख्नु आवश्यक छ ।
सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने नागढुंगा–सिस्नेखोला सुरूङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी चिनियाँ संयुक्त उपक्रम कम्पनी युक्सिन–एआरटीले सम्हाल्ने भएको छ । सुरूङमार्ग सञ्चालनसँगै राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रामा नयाँ अभ्यास सुरु हुनेछ ।
१. सबै सवारीलाई प्रवेश अनुमति छैन
सुरूङमार्गमा पैदलयात्रीलाई प्रवेश गर्न पाइने छैन । त्यसैगरी मोटरसाइकल, स्कुटर, तीनपांग्रे सवारी साधन र पेट्रोलियम पदार्थ वा अन्य ज्वलनशील तथा विस्फोटक सामग्री बोकेका सवारी साधनलाई पनि सुरूङ प्रयोग गर्न रोक लगाइएको छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।
२. कुन सवारीले प्रयोग गर्न पाउने ?
कार, भ्यान, पिकअप, मिनिबस, बस, ट्रक तथा अन्य स्वीकृत चारपांग्रे सवारी साधनले सुरूङमार्ग प्रयोग गर्न पाउनेछन् । यद्यपि, सबै सवारीले निर्धारित सेवा शुल्क भने अनिवार्य रूपमा तिर्नुपर्नेछ ।
३. यस्तो छ सेवा शुल्क
काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीका लागि ६५ रुपैयाँ र बाहिरिने क्रममा ६० रुपैयाँ शुल्क तोकिएको छ ।
मिनीबस तथा मिनी ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै सिंगल रियर एक्सल भएका बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ कायम गरिएको छ ।
४. दूरी मात्र होइन, यात्रा पनि छोटो हुनेछ
हाल सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी करिब ८ किलोमिटर रहेको छ । सुरूङमार्ग सञ्चालनमा आएपछि यही दूरी करिब ५ किलोमिटरमा सीमित हुनेछ । यसरी करिब २ दशमलव ८ किलोमिटर यात्रा छोटिनेछ, जसले दैनिक आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
५. इन्धन र समय दुवै बचत
दूरी धेरै नघटे पनि ट्राफिक जाम कम हुने भएकाले इन्धन खपतमा उल्लेखनीय बचत हुने अनुमान गरिएको छ । अहिले दैनिक रूपमा जाम हुने सिस्नेखोला–नागढुंगा खण्डमा सुरूङ सञ्चालनपछि सवारीको आवागमन सहज हुने विश्वास छ ।
आयोजनाका अनुसार सुरूङमार्ग प्रयोग गर्दा काठमाडौंतर्फ आउँदा करिब ३३ मिनेट र काठमाडौंबाट बाहिर जाँदा करिब २३ मिनेटसम्म समय बचत हुन सक्छ ।
६. अत्याधुनिक सुरक्षा व्यवस्था
सुरूङ परियोजनामा मुख्य सुरूङसँगै छुट्टै उद्धार सुरूङ पनि निर्माण गरिएको छ । करिब २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरूङ आकस्मिक अवस्थामा प्रयोग गरिनेछ ।
मुख्य सुरूङ र उद्धार सुरूङबीच सात स्थानमा क्रस मार्ग निर्माण गरिएको छ, जहाँबाट आवश्यक पर्दा एम्बुलेन्स, दमकल तथा उद्धार टोली तत्काल पुग्न सक्नेछन् ।
आयोजनाका प्राविधिक अधिकारीहरूका अनुसार सुरूङभित्र सिसिटिभी निगरानी, सञ्चार प्रणाली, भेन्टिलेसन, जेट फ्यान, अक्सिजन प्रवाह, आगलागी नियन्त्रण प्रणाली तथा अन्य आपतकालीन सुरक्षा संयन्त्र जडान गरिएको छ । यसले दुर्घटना वा अन्य जोखिमपूर्ण अवस्थालाई छिटो नियन्त्रणमा लिन सहयोग गर्ने विश्वास गरिएको छ ।
७. झन्डै २८ अर्ब रुपैयाँको लगानी
यो महत्वाकांक्षी पूर्वाधार परियोजनामा जापान सरकारको करिब २२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग रहेको छ । त्यससँगै नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ बराबरको लगानी गरेको छ । दुवै पक्षको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो परियोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
नेपालमा सडक पूर्वाधारलाई आधुनिक बनाउने दिशामा नागढुंगा–सिस्नेखोला सुरूङमार्गलाई महत्वपूर्ण परियोजनाका रूपमा लिइएको छ । नियमित सञ्चालनपछि यसले राजधानी प्रवेश गर्ने यात्रुलाई जामबाट राहत दिनुका साथै समय, इन्धन र सञ्चालन लागत घटाउन पनि उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Photo Credit: ekantipur