Newad1
Featured blog image

नागढुङ्गा सुरुङमा मनपरी ड्राइभिङमाथि कडाइ, प्रवेश रोक्ने चेतावनी

काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई सुरुङ प्रवेशमै रोक लगाउने ट्राफिक प्रहरीले चेतावनी दिएको छ । तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन मिच्ने र जथाभाबी ओभरटेक गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले यस्तो चेतावनी दिएको हो ।

सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म नियम उल्लंघन गर्ने २८४ चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहीबार मात्रै १३ चालकलाई कारबाही गरिएको छ । उनीहरूलाई ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्गमा सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । गति सीमासम्बन्धी सूचना बोर्ड राखिए पनि केही चालकले तीव्र गतिमा सवारी चलाउने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने गरेको प्रहरीले जनाएको छ ।

सुरुङभित्र स्टन्ट गर्ने र गलत तरिकाले ओभरटेक गर्नेजस्ता गतिविधिसमेत देखिएको प्रहरीको भनाइ छ । यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आपत्कालीन अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुन सक्ने सुवेदीले बताएका छन् ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा निर्धारित गति पालना गर्न, आफ्नो लेनमा सवारी चलाउन र अनावश्यक हर्न नबजाउन आग्रह गरेको छ । सुरुङजस्तो संवेदनशील सडक खण्डमा सवारी चलाउँदा थप सावधानी अपनाउन पनि चालकलाई अनुरोध गरिएको छ ।

footer