गाडी छान्नेबित्तिकै कर्जा आवेदन, नाइमा एक्स्पोमा यस्तो छ सुविधा
काठमाडौं । नयाँ सवारी रोज्न प्रदर्शनी पुगेका ग्राहकका लागि खरिद प्रक्रिया केही सहज बनेको छ । गाडी छनोट गरेलगत्तै कर्जाको ब्याजदर बुझ्न, आवेदन दिन र सम्बन्धित शाखासँग सम्पर्क स्थापित गर्न सकिने व्यवस्थाले मेलास्थलमा बैंकका कक्षतर्फ पनि चहलपहल बढाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबी बैंकले सवारी कर्जाका विशेष योजना उपलब्ध गराएका छन् । बैंकहरूले आधारदरमा शून्य दशमलव पाँचदेखि एक प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने जनाएका छन् । सेवा शुल्क भने शून्य दशमलव पाँच प्रतिशत राखिएको छ ।
एक्स्पोको सहप्रायोजक ग्लोबल आइएमई बैंक तथा बैंकिङ साझेदार सिद्धार्थ र एनएमबी बैंकका कक्षबाट ग्राहकले कर्जासम्बन्धी जानकारी लिनुका साथै प्रारम्भिक आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । केही बैंकले क्युआर सङ्केतमार्फत समेत विवरण बुझाउने सुविधा दिएका छन् ।
ग्लोबल आइएमई बैंकका साना तथा मझौला उद्यम एवं खुद्रा बैंकिङ प्रबन्धक मञ्जिल विष्टका अनुसार सवारी छनोटपछि कर्जाका लागि नाम दर्ता गर्ने र आवेदन बुझाउने ग्राहकको सङ्ख्या दैनिक बढिरहेको छ । बैंकले इच्छुक ग्राहकलाई आवश्यक प्रक्रियाका लागि सम्बन्धित शाखासँग जोडिरहेको उनले बताए ।
सिद्धार्थ बैंकले मेलास्थलबाट सङ्कलित ग्राहक विवरण केन्द्रीय कार्यालयमा पठाएर नजिकको शाखामार्फत थप प्रक्रिया अघि बढाइरहेको छ । बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले आवश्यकताअनुसार ग्राहकलाई मेलास्थलबाटै शाखासँग सम्पर्क गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।
एनएमबी बैंकले पनि एक्स्पोलाई लक्षित गर्दै सवारी कर्जाको ब्याजदर संशोधन गरेको जनाएको छ । बैंककी सम्बन्ध व्यवस्थापक समीक्षा पन्तका अनुसार विशेष ब्याजदरबारे जानकारी लिन आउने ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
सवारी विक्रेताले छुट तथा अन्य सुविधा दिइरहेका बेला बैंकहरूले ल्याएका कर्जा योजनाले तत्काल नगद भुक्तानी गर्न नसक्ने ग्राहकलाई खरिद प्रक्रिया अघि बढाउन सहयोग पुर्याएको छ । विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारी खोजिरहेका ग्राहकले बैंकका योजना तुलना गरेर उपयुक्त विकल्प छनोट गर्न सक्नेछन् ।
साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा नयाँ विद्युतीय कार, स्कुटर तथा व्यावसायिक सवारीसाधनसँगै कर्जा र वित्तीय सेवासम्बन्धी जानकारी पनि उपलब्ध छ ।