नाइमा एक्स्पोमा बिहानैदेखि लाइन, बिदाको भीड थेग्न विशेष तयारी
काठमाडौं । नयाँ गाडी हेर्ने, उपलब्ध विकल्प तुलना गर्ने र प्रदर्शनीमै आकर्षक प्रस्ताव खोज्नेहरूको चहलपहलले भृकुटीमण्डप क्षेत्र बिहानैदेखि व्यस्त हुन थालेको छ । बिदाका दिन अझ ठूलो भीड आउने देखिएपछि आयोजकले पार्किङदेखि प्रवेश व्यवस्थापनसम्म थप तयारी गरेको छ ।
जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शुक्रबारसम्म एक लाख आठ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन् । चौथो दिन मात्रै ३१ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका हुन् ।
उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पो पुगेका थिए । दैनिक औसत २५ हजार र प्रदर्शनी अवधिभर करिब डेढ लाख मानिस आउने आयोजकको प्रारम्भिक अनुमान थियो । तर चार दिनमै सहभागिता एक लाख नाघेपछि शनिबार र आइतबार अपेक्षाभन्दा ठूलो भीड हुन सक्ने देखिएको छ ।
आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार सुरुवाती दिनमै भृकुटीमण्डपका खुला क्षेत्र र नेपाल पुलिस क्लबमा उपलब्ध पार्किङ भरिन थालेको थियो । बिदाका दिन सवारीको चाप थप बढ्ने भएकाले पार्किङ स्थलको विशेष व्यवस्थापन गरिएको उनले बताए ।
एक्स्पो बिहान ११ बजे खुल्ने भए पनि १० बजेदेखि नै प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्न थालेको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सले जनाएको छ ।
प्रदर्शनीमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने हालसम्म ५२ नयाँ मोडल सार्वजनिक भइसकेका छन् । विद्युतीय कार, ई–स्कुटर, मोटरसाइकल तथा व्यावसायिक सवारीमा अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ । महँगा मोटरसाइकल ब्रान्डका स्टलमा विशेषगरी युवाको भीड लागेको छ ।
अवलोकनकर्ताले गाडीको मूल्य र डिजाइनसँगै ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्री वारेन्टी र रिसेल भ्यालुबारे बढी सोधखोज गरिरहेका छन् । एउटै स्थानमा धेरै ब्रान्ड र मोडल तुलना गर्न पाइने भएकाले गाडी किन्ने योजना बनाएकाहरूका लागि एक्स्पो छनोट र बुकिङको अवसर बनेको छ ।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले नगद छुट, एक वर्षको बिमा तथा सवारी कर, फ्रि सर्भिसिङ र सहुलियत ब्याजदरको अटो कर्जालगायत सुविधा ल्याएका छन् । बैंक तथा बिमा कम्पनीले पनि प्रदर्शनीस्थलबाटै आवश्यक परामर्श र सेवा दिइरहेका छन् ।
दिगो, हरित र प्रविधिमैत्री यातायात प्रवर्धन गर्ने उद्देश्यले आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।