Newad1
Featured blog image

विद्युतीयदेखि विलासी गाडीसम्म रोज्ने अवसर, नाइमा एक्स्पोमा उत्साह

काठमाडौँ । आकाशबाट निरन्तर पानी परिरहँदा पनि भृकुटीमण्डपभित्रको माहोल भने उत्साहले तातेको थियो । छाता र वर्षादी बोकेर पुगेका सवारीप्रेमीले नयाँ गाडी नियाल्ने, सुविधा बुझ्ने र आफ्नो बजेटअनुसारका विकल्प तुलना गर्ने क्रम दिनभर जारी राखे ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन् । पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र भारी वर्षा भएको तेस्रो दिनसमेत २२ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका हुन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन राखिएका छन् । प्रदर्शनी सुरु भएको तीन दिनमै विभिन्न कम्पनीले ५२ वटा नयाँ मोडल सार्वजनिक गरिसकेका छन् ।

मेलामा करिब १७ लाख रुपैयाँदेखि तीन करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारी उपलब्ध छन् । फरक मूल्य, बनोट र सुविधाका कारण सामान्य पारिवारिक कार खोज्नेदेखि विलासी सवारी रोज्ने ग्राहकसम्मले एउटै परिसरमा विकल्प तुलना गर्न पाएका छन् ।

दुईपाङ्ग्रे सवारीका कक्षमा पनि युवाको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी आकर्षक बनोट, उच्च क्षमता र आधुनिक प्रविधि भएका प्रिमियम मोटरसाइकलप्रति युवा अवलोकनकर्ताको चासो बढी छ ।

विद्युतीय सवारी हेर्न पुगेका ग्राहकले ब्याट्रीको क्षमता, मोटरको शक्ति, एकपटकको चार्जमा तय गर्न सकिने दूरी र बिक्रीपछिको सेवाबारे विस्तृत जानकारी लिइरहेका छन् । ब्याट्रीको वारेन्टी, पुनः बिक्री मूल्य, चार्जिङ सुविधा र मर्मत खर्च पनि ग्राहकका प्रमुख जिज्ञासा बनेका छन् ।

कम्पनीहरूले एक्स्पो अवधिका लागि मूल्य छुट, एक वर्षको बीमा तथा सवारी कर, निःशुल्क मर्मत सेवा र सहुलियत ब्याजदरमा कर्जाजस्ता सुविधा ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि मेलास्थलमै रहेकाले सवारी छनोटपछि कर्जाको प्रक्रिया र मासिक किस्ताबारे बुझ्न ग्राहकलाई सहज भएको छ ।

एक्स्पोमा सवारी प्रदर्शन र बिक्रीसँगै यातायात क्षेत्रका समसामयिक विषयमा संवादसमेत भइरहेको छ । बिहीबार आयोजित छलफलमा सवारी कर्जा, बीमा र जोखिम व्यवस्थापनका विषयमा बैंक, बीमा कम्पनी, हायर पर्चेज व्यवसाय तथा नियामक निकायका प्रतिनिधिले धारणा राखेका थिए ।

दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ । आयोजकले प्रदर्शनी अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ ।

footer