Newad1
Featured blog image

नाइमा मोबिलिटी एक्स्पो २०२६: नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको बृहत् प्रदर्शनी साउन २६ देखि

काठमाडौँ, ६ असार । नेपालका अटोमोबाइल पारखी, नयाँ प्रविधिप्रति चासो राख्ने उपभोक्ता तथा उद्योग क्षेत्रका सरोकारवालाले प्रतिक्षा गरिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ यस वर्ष अझ भव्य र फराकिलो स्वरूपमा आयोजना हुने भएको छ । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक गरिने जानकारी दिएको हो ।


आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डप मा सञ्चालन हुने एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, चार्जिङ पूर्वाधार र मोबिलिटीसँग सम्बन्धित विभिन्न सेवा तथा उत्पादनहरू एकै स्थानमा अवलोकन गर्न सकिनेछ । आयोजकका अनुसार यस संस्करणले नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्य ले उद्योग क्षेत्रबाट प्राप्त भएको उत्साहजनक सहभागिताले एक्स्पोको महत्व झन् बढाएको बताइन् । उनका अनुसार नाइमा अहिले ३६ सदस्य कम्पनीसम्म विस्तार भइसकेको छ र संस्थाले नेपालमा आधुनिक, दिगो तथा सर्वसुलभ मोबिलिटी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।

उनले एक्स्पोलाई केवल सवारीसाधनको प्रदर्शनीमा सीमित नराखी ज्ञान, अनुसन्धान र सीप विकाससँग जोड्ने लक्ष्य लिइएको पनि स्पष्ट पारिन् । एक्स्पोबाट प्राप्त टिकट आम्दानीको १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रमका लागि छुट्याइनेछ । सोही कार्यक्रमअन्तर्गत तयार हुने अनुसन्धान र लेखहरू नाइमा मोबिलिटी जर्नल मार्फत प्रकाशन गरिने योजना पनि रहेको उनले जानकारी दिइन् ।

अध्यक्ष वैद्यका अनुसार आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गरिनेछ । साथै, शिक्षा मन्त्रालय तथा नेपाल सरकारसँग सहकार्य गरेर मोबिलिटी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन, सीप विकास तथा रोजगारी सिर्जनामुखी तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

कार्यक्रममा नाइमा बोर्ड सदस्य सन्दीप शारडा ले निजी क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी, व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।

त्यस्तै, नाइमा अटो शो प्लानिङ कमिटी का संयोजक गौरव शारडा ले गत वर्षको अनुभवलाई अझ परिस्कृत गर्दै यसपटकको एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको, व्यवस्थित, सहज र आगन्तुकमैत्री बनाइने बताए । मनसुनको मौसमलाई ध्यानमा राखेर विशेष पूर्वाधार तयार गरिएको, अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच सुनिश्चित गरिने तथा आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध गराइने उनले जानकारी दिए ।

एक्स्पो अवधिभर पठाओ ले राइड पार्टनरका रूपमा छुटसहितको यात्रा सेवा उपलब्ध गराउनेछ भने युनियन पे क्यूआर मार्फत टिकट खरिद गर्ने दर्शकले क्यासब्याक सुविधा प्राप्त गर्नेछन् । ग्लोबल आइएमई बैंक सह–प्रायोजक तथा रेड बुल पावर्ड बाइ पार्टनरका रूपमा आबद्ध रहेका छन् ।

यसका अतिरिक्त बैंकिङ, बीमा, चार्जिङ, कनेक्टिभिटी, हेल्थ, हस्पिटालिटी, डिजिटल, सुरक्षा, टिकटिङ, शिक्षा तथा इभेन्ट व्यवस्थापनलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले साझेदारको रूपमा एक्स्पोलाई सहयोग गर्नेछन् । यसले प्रदर्शनीलाई केवल सवारीसाधन प्रदर्शनमा सीमित नराखी सम्पूर्ण मोबिलिटी इकोसिस्टमको साझा प्लेटफर्मका रूपमा विकास गर्ने आयोजकको लक्ष्यलाई बल पुर्‍याउने विश्वास गरिएको छ ।

यस वर्षको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा कमर्सियल सवारी गरी कुल ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् । प्रदर्शनीमा बीवाईडी, हुन्डाई, टाटा, ओमोडा–जेको, एमजी, किया, टोयोटा, महिन्द्रा, निसान, जिकर, डेन्जा, लीपमोटर, प्रोटोन, आइकार, ग्रेटवाल मोटर्स, प्यूजो लगायतका ब्रान्ड सहभागी हुनेछन् । दुईपाङ्ग्रेतर्फ होन्डा, बजाज, हिरो, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, ट्रायम्फ, एथर, अल्ट्राभायोलेट, याडिया, एनआइयु लगायतका ब्रान्डले आफ्ना नवीनतम मोडल प्रदर्शन गर्नेछन् ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणका कारण यस वर्षको एक्स्पोमा अधिकांश नयाँ लन्चहरू इलेक्ट्रिक तथा हाइब्रिड प्रविधिमा आधारित हुने अपेक्षा गरिएको छ । नयाँ गाडी खरिदको योजना बनाइरहेका उपभोक्तादेखि उद्योगका व्यवसायी, विद्यार्थी र प्रविधिप्रेमी सबैका लागि यो प्रदर्शनी विशेष आकर्षण बन्ने देखिएको छ ।

अहिले नै अटोमोबाइल बजारमा एक्स्पोको चर्चा सुरु भइसकेको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म कुन ब्रान्डले कस्तो नयाँ मोडल ल्याउने भन्ने जिज्ञासा बढ्दो छ । यही उत्सुकताले पनि यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई नेपालको अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो र चर्चित आयोजनामध्ये एक बनाउने अपेक्षा गरिएको छ ।



footer