६ दिनमै लक्ष्यभन्दा बढी बुकिङ, भिगो ई२ को मूल्य बढ्यो
काठमाडौं । नयाँ मोडल सार्वजनिक भएसँगै देखिएको ग्राहकको चापले नामीको पछिल्लो इलेक्ट्रिक एसयूभीमा दिइएको विशेष सुविधा अपेक्षा गरिएभन्दा चाँडै टुंगिएको छ । अब यो गाडी खरिद गर्न चाहने ग्राहकले नियमित मूल्यअनुसार बुकिङ गर्नुपर्ने भएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ मा उपलब्ध गराएको दुई लाख रुपैयाँको विशेष अफर समाप्त भएको जनाएको हो । अब यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने सोही एमआरपीमा नयाँ बुकिङ निरन्तर रहनेछ ।
कम्पनीका अनुसार सार्वजनिक भएको ६ दिनभित्रै चाडपर्वको अवधिमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ प्राप्त भएको छ । सीमित अवधिका लागि ल्याइएको अफर र नयाँ मोडलप्रतिको आकर्षणले बुकिङ बढाएको कम्पनीको दाबी छ ।
नामी ई२ प्लसमा रुचाइएका अधिकांश फिचरलाई निरन्तरता दिइएको भिगो ई२ मुनरुफबिनाको संस्करण हो । आधुनिक डिजाइन, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण यो मोडलप्रति ग्राहकको चासो बढेको कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तले उच्च मागका कारण विशेष अफर नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताएका छन् । उनले ग्राहकबाट प्राप्त विश्वासप्रति आभार व्यक्त गर्दै बजारको मागअनुसार थप प्रतिस्पर्धी उत्पादन ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।
विशेष अफर सकिए पनि भिगो ई२ को बिक्री तथा बुकिङ रोकिएको छैन । अब गाडी बुकिङ गर्ने ग्राहकले भने ३७ लाख ९९ हजार रुपैयाँको नियमित मूल्य तिर्नुपर्नेछ ।