सस्तो मूल्यमा नयाँ नामी बक्स ई२, फिचरमा के फेरियो ?
काठमाडौं । सहरभित्रको दैनिक यात्रा र परिवारको पहिलो इलेक्ट्रिक कार खोजिरहेका ग्राहकलाई लक्षित गर्दै नेपाली बजारमा अर्को किफायती विकल्प थपिएको छ । परिचित डिजाइनलाई निरन्तरता दिइएको नयाँ मोडलमा मूल्य र आवश्यक फिचरबीच सन्तुलन मिलाउने प्रयास गरिएको छ ।
नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नयाँ नामी बक्स ई२को बुकिङ तथा बिक्री सुरु गरेको हो । नाडा अटो शोका अवसरमा कम्पनीले यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
नयाँ बक्स ई२ दुई भेरियन्टमा उपलब्ध छ । बक्स ई२ ३३० को नाडा विशेष मूल्य २९ लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोपछि यी दुवै भेरियन्टको मूल्य एक–एक लाख रुपैयाँले बढ्नेछ । त्यसपछि बक्स ई२ ३३० को मूल्य ३० लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । सिल्भर तथा डुअल–टोन कलर रोज्ने ग्राहकले थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।
बक्स ई२ ३३० ले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा २३७ किलोमिटर रेन्ज दिन्छ । लामो रेन्ज चाहने ग्राहकका लागि ल्याइएको बक्स ई२ ४३० ले ३१७ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
मूल्य प्रतिस्पर्धी बनाउन नयाँ मोडलबाट लेभल टु एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ हटाइएको छ । यद्यपि, यसमा छवटा एयरब्याग, बिल्ट–इन कारप्ले र डार्क मोड थपिएको छ । बक्सको परिचित डिजाइन, पाँच सिट क्षमताको फराकिलो क्याबिन तथा आरामदायी यात्रासँग सम्बन्धित मुख्य विशेषतालाई भने निरन्तरता दिइएको छ ।
नामी बक्स पहिलोपटक सन् २०२४ मा नेपाली बजारमा आएको थियो । कम्पनीका अनुसार हालसम्म नेपालका सडकमा दुई हजारभन्दा बढी नामी इलेक्ट्रिक गाडी सञ्चालनमा आइसकेका छन् ।
ग्राहकले नाडा अटो शोमा रहेका डोङफेङ नामीका ए६ र ए७ स्टलमा बक्स ई२ अवलोकन तथा बुकिङ गर्न सक्नेछन् ।