अटो शोमा प्रविधिको भिडन्त : ईभी, हाइब्रिड र पेट्रोलमध्ये कसले तान्ला ग्राहक ?
काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रभाव बढिरहँदा अटोमोबाइल बजार अब एउटै प्रविधिमा केन्द्रित प्रतिस्पर्धाबाट बाहिर निस्कन थालेको छ । सहरभित्र किफायती यात्राका लागि पूर्ण विद्युतीय गाडी खोज्ने ग्राहकदेखि चार्जिङको चिन्ताबिना लामो दूरी तय गर्न चाहनेका लागि हाइब्रिड र पेट्रोल एसयूभीसम्मका विकल्प एकैपटक थपिँदै छन् ।
आगामी दुई ठूला अटो प्रदर्शनीले यो
परिवर्तनलाई अझ स्पष्ट बनाउने देखिन्छ । यसपटक कम्पनीहरू नयाँ मोडलको संख्या
बढाउने मात्र होइन, फरक आवश्यकता भएका ग्राहकका लागि पूर्ण ईभी, हाइब्रिड, प्लग–इन
हाइब्रिड, रेन्ज–एक्सटेन्डेड र पेट्रोल गाडी उपलब्ध गराउने तयारीमा छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड
म्यानुफ्याक्चर्स एसोसिएसनले साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा
नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्दै छ । त्यसको करिब दुई सातापछि नाडा
अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म सोही स्थानमा नाडा अटो शो
आयोजना गर्नेछ ।
नाइमाका अनुसार एक्स्पोमा ५१
प्रदर्शनी स्टल र ५५ भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी
हुनेछन् । त्यहाँ ४० भन्दा बढी नयाँ सवारी तथा मोबिलिटी उत्पादन सार्वजनिक हुने
अपेक्षा गरिएको छ ।
३० देखि ४० लाखमा ईभीको भिडन्त
इन्धन खर्चमा हुने बचत, कम सञ्चालन
लागत र लगातार आइरहेका नयाँ मोडलका कारण ३० देखि ४० लाख रुपैयाँ मूल्य समूह ईभी
प्रतिस्पर्धाको मुख्य क्षेत्र बन्दै छ ।
अटो शोअघि नै सार्वजनिक भएको प्रोटोन इमास ५ यही मूल्य समूहको एउटा प्रमुख मोडल हो । यससँग प्रतिस्पर्धा गर्ने अर्को मोडल आर्कफक्स टी१ हो । लक्ष्मी मोटरहबले यसलाई साउन २५ गते सार्वजनिक गरेर नाइमा एक्स्पोमा उपलब्ध गराउने तयारी गरेको छ । यसमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री र ९५ किलोवाटको मोटर छ । कम्पनीले यसले एकपटकको चार्जमा ३१० किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।
आर्कफक्स टी१को आधिकारिक मूल्य
सार्वजनिक हुन बाँकी छ । तर कम्प्याक्ट क्रसओभर बनोट, पाँच सिटको केबिन र १८०
मिलिमिटरभन्दा बढी ग्राउन्ड क्लियरेन्सको संकेतका कारण यसले ४० लाख रुपैयाँभन्दा
कम मूल्यमा नेपाली सडक सुहाउँदो ईभी खोज्ने ग्राहकलाई आकर्षित गर्न सक्छ ।
ठूलो केबिन र लामो रेन्ज खोज्नेका
लागि लिपमोटर बी०३एक्स पनि आउने तयारीमा छ । यसमा ५३ किलोवाट आवरको ब्याट्री, १४५
किलोवाटको मोटर र ५१० लिटरको बुट स्पेस रहने जानकारी छ । कम्पनीले यसले ५०५
किलोमिटरसम्म सीएलटीसी रेन्ज दिने दाबी गरेको छ ।
चेरी क्यू, ओमोडा ई४, टाटा पन्च ईभी,
वुलिङ बिङ्गो र बीएडब्लू ई सेभेन प्रो पनि बजारमा आउने तयारीमा छन् । चुफेङ एम३१ए
विद्युतीय पिकअपको आगमनले ईभीको विकल्प ह्याचब्याक र एसयूभीमा मात्र सीमित नरही
फरक प्रयोजनका सवारीमा समेत विस्तार हुँदै गएको देखाउँछ ।
ईभीपछि हाइब्रिड ल्याउने दौड
पूर्ण विद्युतीय गाडीको बजार
विस्तारसँगै व्यवसायीको ध्यान हाइब्रिड प्रविधिमा केन्द्रित हुन थालेको छ । यसअघि
पेट्रोल र ईभी बिक्री गर्दै आएका कम्पनीहरू अब हाइब्रिड, प्लग–इन हाइब्रिड तथा
रेन्ज–एक्सटेन्डेड मोडल ल्याएर आफ्नो पोर्टफोलियो विस्तार गर्दै छन् ।
सबै ग्राहकको यात्रा शैली र चार्जिङ
पहुँच समान नभएकाले यो प्रविधितर्फ व्यवसायीको आकर्षण बढेको हो । दैनिक छोटो
दूरीमा विद्युत्को बचत लिन चाहने तर लामो यात्रामा चार्जिङ स्टेसनमा निर्भर हुन
नचाहने ग्राहकका लागि पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन उपयोगी विकल्प
बन्न सक्छ ।
नेपालका लागि एमजीको आधिकारिक वितरक
पारामाउन्ट मोटर्सले नाइमा एक्स्पोमा एमजी एचएस प्लग–इन हाइब्रिड सार्वजनिक गर्ने
तयारी गरेको छ । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, विद्युतीय मोटर र २४.७
किलोवाट आवरको ब्याट्री रहने जानकारी छ । यसले विद्युतीय शक्तिमै करिब १२०
किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
एसपीजी अटोमोबाइलले आइकार भी२७
ल्याउने तयारी गरेको छ । अफरोड शैलीको यो एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल
इन्जिनसँगै ३४.३ किलोवाट आवरको एलएफपी ब्याट्री रहनेछ । यसको विद्युतीय रेन्ज करिब
१४५ किलोमिटर र इन्धनसहितको संयुक्त रेन्ज करिब १ हजार २०० किलोमिटर हुने दाबी छ ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी
ई–मोबिलिटीले बीएआईसी बीजे३०ई र जेटोरका मोडल पनि ल्याउने तयारी गरेको छ । बीजे३०ई
बक्सी डिजाइन र रग्ड शैलीको हाइब्रिड एसयूभी हो भने जेटोरले पारिवारिक यात्रा,
लामो टुर र क्याम्पिङ रुचाउने ग्राहकलाई लक्षित गर्नेछ । चांगान डिपलअन्तर्गतको
नेभो ए०५ पनि प्रदर्शनमा आउने तयारीमा छ ।
यी मोडलको प्रवेशसँगै हाइब्रिड बजार
सीमित विकल्पमा निर्भर रहने छैन । मूल्यसँगै विद्युतीय रेन्ज, संयुक्त माइलेज,
अफरोड क्षमता, सुरक्षा सुविधा र बिक्रीपछिको सेवाका आधारमा कम्पनीहरूबीच
प्रतिस्पर्धा हुने देखिन्छ ।
पेट्रोल एसयूभीको उपस्थिति कायमै
ईभी र हाइब्रिडको चर्चा बढे पनि
पेट्रोल एसयूभीको माग तत्काल कमजोर हुने संकेत छैन । लामो यात्रामा इन्धनको सहज
उपलब्धता, ब्रान्डप्रतिको विश्वास, बिक्रीपछिको सेवा र पुनर्बिक्री मूल्यका कारण
धेरै ग्राहक अझै पेट्रोल मोडललाई व्यावहारिक विकल्प मान्छन् ।
एमएडब्लू इन्टरप्राइजेजले नयाँ स्कोडा
कुशाक फेसलिफ्ट सार्वजनिक गरिसकेको छ । यसको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार
रुपैयाँ तोकिएको छ । निसानको नयाँ एसयूभी टेकटन पनि अटो शोमा प्रदर्शन गर्ने
तयारीमा रहेको बताइएको छ ।
पेट्रोल एसयूभीको उपस्थितिले बजारमा
प्रविधिगत परिवर्तन भइरहे पनि सबै ग्राहक एकैपटक ईभी वा हाइब्रिडतर्फ जाने अवस्था
नरहेको देखाउँछ । त्यसैले स्थापित ब्रान्डहरूले पेट्रोल मोडललाई नयाँ डिजाइन, आधुनिक
सुविधा र सुरक्षा प्रविधिसहित निरन्तरता दिइरहेका छन् ।
ग्राहकको आवश्यकता नै निर्णायक
दशैं–तिहार नजिकिँदै गर्दा
कम्पनीहरूले नगद छुट, एक्सचेन्ज, फाइनान्स र बीमासहितका योजना ल्याउने सम्भावना छ
। तर ग्राहकको अन्तिम निर्णय मूल्यमा मात्र निर्भर हुने छैन । दैनिक यात्रा, घरमा
चार्जिङको उपलब्धता, लामो दूरीको आवश्यकता, सञ्चालन खर्च, वारेन्टी र बिक्रीपछिको
सेवाले पनि छनोट निर्धारण गर्नेछ ।
सहरभित्र सीमित दूरी यात्रा गर्ने र
घरमा चार्जिङ सुविधा भएका ग्राहकका लागि पूर्ण ईभी उपयुक्त हुन सक्छ । दैनिक
विद्युतीय मोड प्रयोग गर्दै समय–समयमा लामो यात्रा गर्नेका लागि प्लग–इन हाइब्रिड
वा रेन्ज–एक्सटेन्डेड मोडल उपयोगी बन्न सक्छ । चार्जिङ पहुँच नभएका तथा सहज मर्मत
र इन्धनको उपलब्धतालाई प्राथमिकता दिने ग्राहकका लागि पेट्रोल वा सामान्य हाइब्रिड
गाडी अझै सान्दर्भिक रहनेछन् ।
यस अर्थमा आगामी अटो शो नयाँ गाडी
सार्वजनिक गर्ने मञ्च मात्र हुनेछैनन् । तिनले नेपाली ग्राहकले कस्तो प्रविधिलाई
विश्वास गर्छन् र व्यवसायीले कुन मूल्य तथा प्रयोजनको क्षेत्रमा आफ्नो प्रभाव
स्थापित गर्न सक्छन् भन्ने संकेत पनि दिनेछन् ।
ईभीले नेपाली अटो बजारमा परिवर्तन सुरु गरिसकेको छ । तर हाइब्रिड, रेन्ज–एक्सटेन्डेड र पेट्रोल एसयूभीको बढ्दो उपस्थितिले बजार एउटै प्रविधिमा निर्भर नभई फरक आवश्यकता सम्बोधन गर्ने बहुप्रविधिको प्रतिस्पर्धामा प्रवेश गरिरहेको देखाउँछ ।