Newad1
Featured blog image

ब्याट्री सुरक्षामा नयाँ प्रतिबद्धता, चेरीका सबै राइनो ब्याट्रीयुक्त ईभीमा आजीवन वारेन्टी

काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (एनईभी) का लागि विश्वकै कडा मानिएको नयाँ ब्याट्री सुरक्षा मापदण्ड लागू भएसँगै अटो निर्माता चेरी अटोमोबाइलले आफ्ना ग्राहकलाई आकर्षित गर्ने महत्त्वपूर्ण घोषणा गरेको छ । कम्पनीले राइनो ब्याट्री प्रयोग भएका आफ्ना सबै नयाँ ऊर्जा सवारीसाधन (एनईभी) का पहिलो मालिकलाई आजीवन ब्याट्री वारेन्टी उपलब्ध गराउने घोषणा गरेको हो ।

यो सुविधा व्यक्तिगत प्रयोगका लागि खरिद गरिएका सवारीमा मात्र लागू हुनेछ । कम्पनीका अनुसार वारेन्टीले ब्याट्रीसँगै इलेक्ट्रिक मोटर र कन्ट्रोल युनिटलाई पनि समेट्नेछ ।

चेरीले चीनमा बिक्री भइरहेका तथा नयाँ बिक्रीमा आउने सबै ब्याट्री इलेक्ट्रिक, प्लग–इन हाइब्रिड र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक मोडलमा प्रयोग भएका राइनो ब्याट्रीले नयाँ राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरेको जनाएको छ ।

कम्पनीले अझ एक कदम अघि बढ्दै यदि कुनै सवारीमा मानवीय कारणबाहेक ब्याट्रीको खराबीका कारण ‘थर्मल रनअवे’ भएर क्षति पुगेमा ग्राहकलाई सोही मोडलको नयाँ गाडी उपलब्ध गराइने घोषणा गरेको छ । यसलाई कम्पनीले ब्याट्री सुरक्षाप्रतिको आफ्नो उच्च प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ ।

हाल चेरी समूहअन्तर्गतका Chery, Exeed, Jetour र iCar (iCaur) ब्रान्डका विद्युतीय सवारीमा राइनो ब्याट्री प्रयोग भइरहेको छ । यसअघि कम्पनीले सन् २०२३ मै आफ्ना सम्पूर्ण सवारीका लागि आजीवन वारेन्टी योजना सार्वजनिक गरेको थियो । नयाँ घोषणा भने विशेष रूपमा ब्याट्री सुरक्षालाई केन्द्रमा राखेर ल्याइएको हो ।

यो निर्णय चीनमा जुलाई १, २०२६ देखि लागू भएको नयाँ GB38031-2025 ब्याट्री सुरक्षा मापदण्डसँग प्रत्यक्ष रूपमा जोडिएको छ । ‘नो फायर, नो एक्सप्लोजन’ भनेर चिनिने यो नियमलाई हालसम्मकै सबैभन्दा कडा ब्याट्री सुरक्षा मापदण्ड मानिएको छ ।

नयाँ मापदण्डअनुसार थर्मल रनअवे सुरु भएपछि कम्तीमा दुई घण्टासम्म ब्याट्रीमा आगलागी वा विस्फोट हुन नहुने व्यवस्था गरिएको छ । साथै चेतावनी संकेत जारी भएको पाँच मिनेटभित्र धुवाँ यात्रु बस्ने क्याबिनमा पस्न नहुने उल्लेख छ ।

यसबाहेक ३० मिलिमिटरको स्टिल बलबाट १५० जुल ऊर्जासहित तीन पटक प्रहार गर्दा पनि ब्याट्रीमा आगलागी वा विस्फोट हुनु हुँदैन । त्यस्तै ३०० पटकसम्म फास्ट चार्जिङ परीक्षणपछि पनि ब्याट्री सुरक्षित रहनुपर्ने नयाँ मापदण्डले अनिवार्य गरेको छ ।

चेरीले चीनमा विद्युतीय सवारीको बिक्री विस्तारसँगै ब्याट्री प्रविधिमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले सन् २०२७ भित्र सोलिड–स्टेट ब्याट्रीलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ । साथै ब्याट्री प्रविधि विकासका लागि कम्पनीले CATL र Gotion सँग पनि सहकार्य गरिरहेको छ ।

चीनको ईभी डाटाट्र्याकरका अनुसार मे २०२६ मा चेरीको सबैभन्दा धेरै बिक्री भएको विद्युतीय मोडल QQ3 EV बनेको थियो । उक्त मोडलको एक महिनामै ८ हजार ५२३ युनिट बिक्री भएको थियो । कम्पनीले यही मोडललाई अन्तर्राष्ट्रिय बजारमा Chery Q नामबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

footer