नेपालको ईभी बजारमा नयाँ खेलाडी, ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध
काठमाडौं । पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) बीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विशेषगरी मध्यम तथा प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ-नयाँ मोडल सार्वजनिक भइरहेका बेला जीडब्लुएम (ग्रेट वाल मोटर) ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रा.लि.ले द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ओरा ५ ईभी सार्वजनिक गरेको हो । कम्पनीले गाडीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । प्रारम्भिक अफरअन्तर्गत मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
ओरा ५ ईभीमा उच्च क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो एसयूभी नेपाली सडक अवस्थालाई ध्यानमा राखेर ल्याइएको कम्पनीले जनाएको छ ।
डिजाइन र सुविधाको हिसाबले ओरा ५ लाई प्रिमियम सेग्मेन्ट लक्षित गरी विकास गरिएको देखिन्छ । गाडीमा प्यानोरामिक सनरुफ, प्रिमियम इन्टेरियर, इलेक्ट्रिक एड्जस्टेबल सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजी जस्ता आधुनिक सुविधा उपलब्ध छन् । सेल्फ-हिलिङ पेन्टले सामान्य स्क्र्याचहरू समयसँगै आफैं कम गर्न सहयोग गर्ने बताइएको छ ।
सुरक्षाका दृष्टिले पनि ओरा ५ बलियो देखिन्छ । कम्पनीका अनुसार यसले ५-स्टार एएनक्याप र ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ । गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) फिचर समावेश छन् । यसअन्तर्गत लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन लगायतका सुरक्षा प्रविधि उपलब्ध छन् ।
त्यसैगरी दैनिक प्रयोगलाई सहज बनाउन गाडीभित्र ३३ वटा विभिन्न स्टोरेज स्पेसको व्यवस्था गरिएको छ, जसले यात्रु तथा परिवारमुखी प्रयोगकर्तालाई अतिरिक्त सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ को अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरेको जनाएको छ । ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्स’ अवधारणामा आधारित यो मोडलले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड र प्रिमियम सुविधाको संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।
नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढिरहेको अवस्थामा ओरा ५ ले बीवाईडी एट्टो ३, एमजी एस४ ईभी, दीपल एस०७ लगायतका मोडलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । विशेषगरी लामो रेन्ज, उच्च सुरक्षा र प्रिमियम फिचर खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो मोडल बजारमा उतारेको हो ।
जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् । ३५ वर्षभन्दा लामो अटोमोबाइल अनुभव, अनुसन्धान तथा विकासमा निरन्तर लगानी र उत्पादन गुणस्तरका कारण जीडब्लुएम विश्वका प्रमुख अटोमोबाइल ब्रान्डमध्ये एकका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।