पल्सर १५० र १२५ अब पूरै नयाँ, टीएफटीसँगै मोनोसक सस्पेन्सन
काठमाडौं । दशकौँदेखि उस्तै पहिचान बोकेर सडकमा दौडिरहेको पल्सर अब भित्र र बाहिर दुवैतर्फ फेरिएको छ । देखिने डिजाइनभन्दा ठूलो परिवर्तन यसको इन्जिन, फ्रेम, सस्पेन्सन र चालकले प्रत्यक्ष प्रयोग गर्ने प्रविधिमा गरिएको छ ।
बजाज अटोले भारतमा नयाँ पुस्ताका पल्सर १५० र पल्सर १२५ सार्वजनिक गरेको हो । नयाँ पल्सर १५०को प्रारम्भिक एक्स–शोरुम मूल्य १ लाख १५ हजार ५० भारु र पल्सर १२५को ९१ हजार ९१० भारु राखिएको छ । सहर र भेरियन्टअनुसार मूल्य फरक हुन सक्नेछ ।
दुवै मोटरसाइकलका माथिल्ला भेरियन्टमा ५ इन्चको कलर टीएफटी कन्सोल उपलब्ध छ । यसमा गुगल म्याप्स मिररिङ, टर्न–बाइ–टर्न नेभिगेसन, कल तथा सन्देशको जानकारी, म्युजिक कन्ट्रोल र डिजिटल कागजात सुरक्षित राख्ने सुविधा पाइन्छ । ब्लुटुथ र वाइफाई कनेक्टिभिटीसँगै युएसबी टाइप–सी चार्जिङ पोर्ट तथा हाजार्ड लाइट पनि थपिएको छ ।
प्रारम्भिक मूल्यका बेस भेरियन्टमा भने टीएफटी कन्सोल उपलब्ध हुँदैन । ती भेरियन्टमा कलर एलसीडी कन्सोल दिइएको छ । टीएफटी, गुगल म्याप्स तथा थप कनेक्टेड फिचर लिन ग्राहकले माथिल्लो भेरियन्ट रोज्नुपर्नेछ ।
नयाँ पुस्तासँगै पल्सरको लामो समयदेखिको ट्विन–सक सस्पेन्सन पनि हटेको छ । बजाजले नयाँ फ्रेम तयार गर्दै पछाडि मोनोसक र अगाडि टेलिस्कोपिक फोर्क दिएको छ । यसले मोटरसाइकलको ह्यान्डलिङ, कर्नरिङ र तीव्र गतिमा स्थिरता सुधार गर्ने कम्पनीको दाबी छ ।
डिजाइनतर्फ नयाँ एलइडी हेडल्याम्प, एलइडी डिआरएल, मस्कुलर फ्युल ट्यांक, परिमार्जित ट्यांक एक्सटेन्सन र नयाँ टेल सेक्सन प्रयोग गरिएको छ । अल–एलइडी लाइटिङ तथा नयाँ ग्राफिक्सले पुरानो पल्सरको परिचित स्वरूपलाई आधुनिक बनाएका छन् ।
पल्सर १५०मा १४९.५ सिसीको नयाँ सिंगल–सिलिन्डर एयर–कुल्ड इन्जिन छ । यसले ८ हजार ५०० आरपिएममा १४ पिएस पावर र ६ हजार ५०० आरपिएममा १४.१ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई पाँच स्पिड गियरबक्ससँग जोडिएको छ ।
यसमा साइलेन्ट स्टार्ट, इन्जिन स्टप तथा स्टार्ट र क्रल टेक पनि समावेश गरिएको छ । ट्राफिकमा रोकिँदा इन्जिन स्वतः बन्द हुने र क्लच थिचेपछि पुनः सुरु हुने प्रणालीले इन्धन खपत घटाउन सहयोग गर्नेछ । क्रल टेकले एक्सेलेरेटर नदिई क्लचको सहायताले कम गतिमा मोटरसाइकल अगाडि बढाउन सक्छ ।
पल्सर १२५मा १२४.५८ सिसीको सिंगल–सिलिन्डर इन्जिन दिइएको छ । यसले १२.१ पिएस पावर र ११.४ एनएम टर्क उत्पादन गर्छ । नयाँ पाँच स्पिड गियरबक्सलाई सहरी यात्रामा तल्लो गियरमै राम्रो तान्ने क्षमता दिने गरी तयार गरिएको जनाइएको छ ।
पल्सर १५० र १२५ नेपाली बजारमा बजाजका सबैभन्दा परिचित नाममध्ये पर्छन् । त्यसैले भारतमा आएको यो परिवर्तन नेपालका ग्राहकका लागि पनि प्रत्यक्ष चासोको विषय बनेको छ । विशेषगरी मोनोसक, नयाँ इन्जिन र गुगल म्याप्ससहितको टीएफटी कन्सोलले नेपालमा बिक्री भइरहेका संस्करणको तुलनामा ठूलो फड्को मारेका छन् ।
यद्यपि, यी मोटरसाइकल नेपाल आउने विषयमा आधिकारिक घोषणा भइसकेको छैन । नेपालमा ल्याइए कुन भेरियन्ट उपलब्ध हुन्छ, मूल्य कति रहन्छ र टीएफटी भेरियन्ट प्राथमिकतामा पर्छ वा पर्दैन भन्ने जानकारी पनि सार्वजनिक भएको छैन ।