ईभी बजारमा नयाँ रेकर्ड, टाटादेखि टेस्लासम्म कसको कति बिक्री ?
भारतको विद्युतीय सवारी (ईभी) बजारले मे २०२६ मा अहिलेसम्मकै उत्कृष्ट मासिक प्रदर्शन गरेको छ । भाहन (Vahan) दर्ता तथ्यांकअनुसार मे महिनामा २६ हजार २२१ वटा विद्युतीय यात्रुवाहक सवारी बिक्री भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशतले बढी हो । यो संख्या अप्रिल २०२६ मा कायम भएको २५ हजार २५० युनिटको अघिल्लो मासिक कीर्तिमानभन्दा पनि माथि पुगेको छ ।
मे महिनामा पेट्रोल तथा डिजेलको मूल्य चार पटक र सीएनजीको मूल्य दुई पटक बढेका बीच ईभी बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको हो । कुल बिक्रीमध्ये ६१ प्रतिशत गाडी महिनाको दोस्रो भागमा मात्रै डेलिभरी गरिएको तथ्यांकले देखाएको छ ।
सबैभन्दा धेरै बिक्री गर्दै टाटा मोटर्सले पहिलोपटक मासिक १० हजार युनिटको आँकडा पार गरेको छ। कम्पनीले मे महिनामा १० हजार २३१ वटा ईभी बिक्री गर्दै ३९ प्रतिशत बजार हिस्सा ओगट्यो । यो संख्या गत वर्षको तुलनामा १०२ प्रतिशतले बढी हो । टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी, कर्भ ईभी, ह्यारियर ईभी र टिगोर ईभी टाटाको प्रमुख लाइनअपमा छन् ।
दोस्रो स्थानमा रहेको महिन्द्राले ६ हजार १३३ वटा ईभी बिक्री गर्दै ९६ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ । कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो मासिक ईभी बिक्री हो । बीई ६, एक्सईभी ९ ई र एक्सईभी ९ एस मोडलले बिक्रीलाई बल पुर्याइरहेका छन् ।
जेएसडब्लु एमजी मोटर इन्डियाले ४ हजार ९३६ युनिट बिक्री गर्दै तेस्रो स्थान कायम राख्यो । बिक्री ७ प्रतिशतले बढे पनि कम्पनीको बजार हिस्सा ३१ प्रतिशतबाट घटेर १९ प्रतिशतमा झरेको छ । विन्डसर ईभी कम्पनीको सबैभन्दा लोकप्रिय मोडल बनेको छ ।
मारुति सुजुकीले ईभी बजारमा प्रवेश गरेयता पहिलोपटक १ हजार ५७७ युनिट बिक्री गर्दै चौथो स्थान हासिल गरेको छ । कम्पनीको ई–भिटारा मोडलले यो सफलता दिलाएको हो । उत्पादनको ठूलो हिस्सा निर्यातमा केन्द्रित भएकाले घरेलु आपूर्ति सीमित रहेको बताइएको छ ।
भियतनामी ब्रान्ड विनफास्टले १ हजार २२४ युनिट बिक्री गर्दै पाँचौं स्थान कब्जा गरेको छ । कम्पनीले हाल भारतमा भीएफ ६, भीएफ ७ र भीएफ एमपीभी ७ बिक्री गरिरहेको छ । यसले करिब ५ प्रतिशत बजार हिस्सा बनाएको छ ।
चिनियाँ कम्पनी बीवाइडीले ६८३ युनिट बिक्री गर्दै भारतमा आफ्नो अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड कायम गरेको छ । कम्पनीको बिक्री २८ प्रतिशतले बढेको हो । एट्टो ३, सिल, सिलायन ७ र ईम्याक्स ७ यसको प्रमुख मोडल हुन् ।
उता हुन्डाईको ईभी बिक्री भने ३७ प्रतिशतले घटेर ४५४ युनिटमा सीमित भएको छ । क्रेटा इलेक्ट्रिक र आयोनिक ५ कम्पनीका मुख्य ईभी मोडल हुन् । टाटा, महिन्द्रा र एमजीको बढ्दो प्रतिस्पर्धाले हुन्डाईलाई चुनौती थपेको देखिन्छ ।
कियाले भने उल्लेखनीय फड्को मार्दै ३४५ युनिट बिक्री गरेको छ, जुन गत वर्षको ४१ युनिटको तुलनामा ७४१ प्रतिशत बढी हो । कम्पनीको करेन्स क्लाभिस ईभी यसको मुख्य बिक्री चालक बनेको छ ।
लक्जरी ईभी सेग्मेन्टमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । मे महिनामा कुल ६१६ वटा लक्जरी ईभी बिक्री भएका छन्, जुन गत वर्षको तुलनामा ६८ प्रतिशत बढी हो ।
बीएमडब्लुले ३४५ युनिट बिक्री गर्दै भारतको सबैभन्दा धेरै बिक्री हुने लक्जरी ईभी ब्रान्डको स्थान कायम राख्यो । मर्सिडिज–बेन्जले २०४ युनिट बिक्री गरेको छ भने टेस्लाले ३५ वटा मोडल वाई बिक्री गर्दै भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । भोल्भोले २८ युनिट बिक्री गर्दा पोर्शेले ४ युनिट बिक्री गरेको छ ।
भारतको ईभी बजारमा टाटा र महिन्द्राको दबदबा अझ बलियो बन्दै गएको देखिएको छ । अर्कोतर्फ मारुति सुजुकी, विनफास्ट र टेस्लाजस्ता नयाँ खेलाडीको प्रवेशले बजारमा प्रतिस्पर्धा थप चर्किएको छ ।