४९ ब्रान्ड, नयाँ प्रविधि र विश्वस्तरीय प्रदर्शनीको तयारी; २६ साउनदेखि नाइमा मोबिलिटी एक्स्पो

काठमाडौं  नेपालको मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको सर्वाधिक प्रतिष्ठित प्रदर्शनी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । आयोजक संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पारदर्शी चिठ्ठा प्रणालीमार्फत कुल ४९ ब्रान्डका लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ ।

स्टल बाँडफाँड र सहभागिता

बाँडफाँड भएका ४९ स्टलमध्ये २६ वटा चारपांग्रे सवारी साधन ब्रान्डका लागि र २३ वटा दुईपांग्रे तथा व्यावसायिक सवारी साधन ब्रान्डका लागि छुट्याइएको छ ।
चारपांग्रे विभागमा BYD, हुन्डाई, किया, टोयोटा, महिन्द्रा, MG, टाटा, निसान, लिपमोटर, ग्रेटवाल मोटर्स, प्युजो, प्रोटोन, आर्कफोक्स, बीएआईसी, सिट्रोन, डेन्जा, फर्थिङ, हेनरी भोल्ट्स, आईकार, केई, म्याक्सस, ओमोडा एन्ड जेइको, वुलिङ र जिकर सहभागी हुनेछन् । दुईपांग्रे विभागमा होन्डा, बजाज, रोयल इन्फिल्ड, सुजुकी, केटीएम, टीभीएस, एथर, अल्ट्राभायोलेट, ट्रायम्फ, याडिया, एनआईयू, सीएफमोटो/जिहो लगायत १७ ब्रान्ड र व्यावसायिक सवारी साधनतर्फ चेरी वान्डा, कारी, किटोन र स्काईवर्थ सहभागी हुनेछन् ।

नेतृत्वको भनाइ
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ मोबिलिटी प्रवर्द्धन गर्ने राष्ट्रिय मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले प्रारम्भिक स्टल सुनिश्चित भइसकेपछि पनि थप सहभागिताको माग आइरहेको उल्लेख गर्दै उपलब्ध स्थानका आधारमा नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकता दिइने जानकारी दिइन् ।
एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारडाले ४९ ब्रान्डको सहभागिता उद्योग जगत्को उत्साह र विश्वासको प्रतिफल भएको बताउँदै यस वर्षको एक्स्पो विश्वस्तरीय मापदण्डमा आयोजना हुने दाबी गरे । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्णतः निष्पक्ष र पूर्वनिर्धारित मापदण्डमा सम्पन्न भएको स्पष्ट पारे ।

के हुनेछ एक्स्पोमा ?

एक्स्पोमा नवीनतम सवारी साधन, विद्युतीय तथा स्मार्ट मोबिलिटी समाधान र अत्याधुनिक प्रविधिको प्रदर्शनका साथै अग्रणी ब्रान्डहरूले नयाँ मोडलको सार्वजनिक अनावरण गर्नेछन् । उद्योगसँग सम्बन्धित ज्ञानमूलक सत्रहरू पनि सञ्चालन हुने भएकाले उपभोक्ता, व्यवसायी, नीति निर्माता र उद्योग सरोकारवाला सबैका लागि यो एकै मञ्चबाट नेपालको मोबिलिटी इकोसिस्टम बुझ्ने अवसर हुनेछ ।
एक्स्पोको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्स ले गर्नेछ भने डिजिटल सोलुसन्स र प्रोफिट मिडिया क्रमशः डिजिटल मिडिया तथा पब्लिकेसन्स साझेदारका रूपमा आबद्ध रहनेछन् ।