सीमापार विपद्मा नियो, बीवाईडी र साओमीको हातेमालो
काठमाडौँ । नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी विपद्पछि उद्धार र पुनर्स्थापनामा निजी क्षेत्रको सहयोग बढ्न थालेको छ । चिनियाँ अटो तथा प्रविधि क्षेत्रका तीन ठूला कम्पनीले प्रभावित परिवारको राहतका लागि एकैपटक ठूलो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
नियो, बीवाईडी र साओमीले संयुक्त रूपमा २ करोड २० लाख युआन अर्थात् करिब ३२ लाख ४० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त रकम आपत्कालीन उद्धार, प्रभावितको अस्थायी बसोबास तथा विपद्पछिको पुनर्निर्माणमा खर्च गरिनेछ ।
बीवाईडी च्यारिटी फाउन्डेसनले चाइना च्यारिटी फेडरेसनमार्फत १ करोड युआन नगद सहयोग गरेको छ । साओमी फाउन्डेसनले पनि आपत्कालीन सहायता, अस्थायी पुनर्वास र पुनर्निर्माणका लागि १ करोड युआन छुट्याएको छ ।
नियो र नियो युजर च्यारिटी फाउन्डेसनले संयुक्त रूपमा २० लाख युआन सहयोग गरेका छन् । कम्पनीले स्थानीय आवश्यकता हेरेर सामाजिक संस्था तथा उद्धार टोलीसँग समन्वय गर्दै थप सहयोगसमेत उपलब्ध गराउने जनाएको छ ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयका विज्ञका अनुसार हिमपहिरोबाट बनेको गेग्रानसहितको बहाव प्रतिसेकेन्ड करिब ५० मिटरको गतिमा अघि बढेको थियो । यसको प्रभाव २० किलोमिटरभन्दा लामो क्षेत्रमा फैलिएको अनुमान गरिएको छ ।
भदौ ११ गते बिहान ८ बजेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको थियो भने ५५८ जना सम्पर्कविहीन थिए । सम्पर्कविहीनमध्ये २६० जना विदेशी नागरिक रहेको र दुई जनालाई जीवितै उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।
चीनले राष्ट्रियस्तरको दोस्रो तहको विपद् राहत आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ भने सिगात्से प्रशासनले पहिलो तहको प्राकृतिक विपद् प्रतिक्रिया लागू गरेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उपचार, अस्थायी बसोबास र सम्भावित दोस्रो विपद्को निगरानी जारी छ ।