Newad1
Featured blog image

ब्याट्री चार्ज होइन, अब सिधै स्वाप ! क्याटलले चीनभर सञ्चालन गर्‍यो २,००० स्टेशन

चीनको अग्रणी ब्याट्री निर्माता क्याटलले आफ्नो ‘चोको–एसईबी’ ब्याट्री स्वाप नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्दै चीनभर सञ्चालनमा रहेका स्टेशनको संख्या २ हजार पुर्‍याएको छ । विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई छिटो र सहज ऊर्जा सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले स्वाप पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको हो ।

कम्पनीका अनुसार जुन ३० सम्म चीनका ३१ प्रान्त र १८० सहरमा २ हजार ब्याट्री स्वाप स्टेशन सञ्चालनमा आइसकेका छन् । यससँगै चीनका साना तथा मध्यम आकारका सहरमध्ये ८० प्रतिशतभन्दा बढी क्षेत्रमा यसको सेवा पहुँच विस्तार भएको दाबी गरिएको छ ।

सन् २०२६ को दोस्रो त्रैमासिकमा मात्रै क्याटलले औसतमा प्रत्येक महिना २०० भन्दा बढी नयाँ स्टेशन सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ स्टेशनहरू सांस्कृतिक तथा पर्यटकीय गन्तव्य, व्यापारिक केन्द्र तथा अन्य क्षेत्रीय सहरहरूलाई लक्षित गर्दै निर्माण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले अब राष्ट्रिय राजमार्गहरूमा पनि आफ्नो उपस्थितिलाई तीव्र बनाइरहेको छ । हाल ग्वाङझाउ–सेनझेन ग्रेटर बे एरिया एक्सप्रेसवेमा स्टेशन निर्माण भइरहेको छ भने बेइजिङ–हार्बिन, बेइजिङ–कुनमिङ, बेइजिङ–तिब्बत, डाचिङ–ग्वाङझाउ र लान्झाउ–हाइकोउ एक्सप्रेसवेजस्ता प्रमुख राजमार्गहरूमा पनि विस्तारको तयारी भइरहेको छ ।

मुख्यभूमि चीनबाहिर पनि क्याटलले आफ्नो सेवा विस्तार सुरु गरिसकेको छ । कम्पनीले हङकङमा पहिलो दुई ब्याट्री स्वाप स्टेशन सञ्चालनमा ल्याइसकेको छ भने सन् २०३० सम्म त्यहाँ करिब ३६ वटा स्टेशन स्थापना गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ ।

यो विस्तार गत वर्षको अन्त्यको तुलनामा निकै तीव्र मानिएको छ । सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग ३९ सहरमा ७०० वटा मात्रै ब्याट्री स्वाप स्टेशन सञ्चालनमा थिए । अब भने सन् २०२६ को अन्त्यसम्म १९० भन्दा बढी सहरमा ३ हजार स्टेशन सञ्चालनमा ल्याउने लक्ष्य क्याटलले राखेको छ ।

यसै वर्ष अप्रिलमा कम्पनीले ‘चोकलेट’ यात्रुवाहक तथा ‘किजी’ हेभी ट्रक ब्याट्री स्वाप स्टेशनमा ‘सेनसिङ सुपरचार्जिङ’ प्रणालीलाई मानक सुविधाका रूपमा समावेश गर्ने घोषणा गरेको थियो । यससँगै ती स्टेशनहरूले छिटो चार्जिङ र ब्याट्री स्वाप दुवै सेवा उपलब्ध गराउने हाइब्रिड पूर्वाधारको रूप लिएका छन् ।

कम्पनीका अनुसार यस प्रविधिले हालका ऊर्जा भण्डारणयुक्त चार्जिङ प्रणालीको तुलनामा १३ प्रतिशतभन्दा बढी विद्युत् क्षति घटाउने क्षमता राख्छ ।

यही पूर्वाधारलाई लक्षित गर्दै क्याटलले ८०० भोल्ट प्रणालीसँग मिल्ने ‘चोकलेट २६#’ स्वाप ब्याट्री पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस वर्षको दोस्रो छमाहीदेखि प्रयोगकर्ताले विद्युत् मूल्य उच्च भएका समयमा ब्याट्री स्वाप गरेर अतिरिक्त आम्दानी गर्न सक्नेछन्, जसबाट दैनिक करिब ४० युआन (झन्डै ७ अमेरिकी डलर) बराबर आम्दानी गर्ने सम्भावना रहने बताइएको छ ।

footer