अब पेनाल्टीले तय गर्ने गाडीको मूल्य, जिलीले ल्यायो अनौठो योजना
काठमाडौं । फिफा विश्वकप २०२६ को उत्साहलाई लक्षित गर्दै नेपालमा जिली ईएक्स५ र बीएडब्लु (BAW) सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ। ग्राहकलाई विद्युतीय सवारी खरिद अनुभवलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियान असार ९ गते (जुन २३) सम्म जारी रहने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत जिली ईएक्स५ खरिद गर्ने ग्राहकले विशेष पेनाल्टी सुटआउट खेलमा गरेको प्रत्येक गोलबापत १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन्। त्यसैगरी बीएडब्लु ई७ प्रो खरिदकर्ताले प्रत्येक सफल गोलमा २५ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
गैरीधारास्थित जिली शोरुममा सञ्चालन भइरहेको कार्यक्रममा सहभागी ग्राहकले विशेष रूपमा तयार गरिएको मिनी फुटबल मैदानमा पेनाल्टी प्रहार गर्ने अवसर पाउनेछन्। जिली तथा बीएडब्लुका बिक्री प्रतिनिधिमध्ये एक जना गोलकिपरको भूमिकामा रहनेछन् र ग्राहकले गरेको गोलको संख्याअनुसार खरिद मूल्यमा प्रत्यक्ष छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
नगद छुटसँगै ग्राहकले एक वर्षको अटो प्लस बीमा, एक वर्षको सवारी कर तथा निःशुल्क २–इन–१ एडाप्टेबल चार्जरसमेत प्राप्त गर्नेछन्। कार्यक्रममा भेहिकल–टु–लोड (V2L) कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर तथा सहज पार्किङ सुविधाको समेत व्यवस्था गरिएको छ ।
यससँगै सञ्चालन गरिएको ‘सुपर एक्सचेन्ज क्याम्प’ मार्फत पुरानो सवारी साट्न चाहने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क सवारी मूल्याङ्कन तथा विशेष अफरहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठका अनुसार फुटबलले जोश, प्रतिस्पर्धा र एकताको भावना बोकेको खेल भएकाले त्यही उत्साहलाई सवारी खरिद अनुभवसँग जोड्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। उनका अनुसार यस कार्यक्रमले ग्राहकलाई मनोरञ्जनका साथै उल्लेखनीय आर्थिक लाभसमेत प्रदान गर्नेछ ।
कम्पनीले जिली ईएक्स५ लाई अत्याधुनिक प्रविधि, प्रिमियम फिचर, स्मार्ट सुरक्षा प्रणाली र उत्कृष्ट ड्राइभिङ रेन्जयुक्त विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गर्दै आएको छ। त्यस्तै नेपाली बजारमा प्रवेशको तयारीमा रहेको बीएडब्लु ई७ प्रो व्यवहारिक, किफायती तथा वातावरणमैत्री सवारी विकल्प बन्ने विश्वास कम्पनीको छ ।
एलआरआर मोटर्सले विद्युतीय सवारी खरिदको योजना बनाइरहेका तथा फुटबलप्रेमी ग्राहकलाई गैरीधारास्थित जिली शोरुममा पुगेर टेस्ट ड्राइभ, पेनाल्टी च्यालेन्ज र विशेष छुटको अवसरको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ ।