Newad1
Featured blog image

ओमोडाको नयाँ एक्स एसयूभीमा के छ फरक ?

काठमाडौं । ओमोडाले फरक डिजाइन र रातिको यात्रामा सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्ने नाइट भिजन प्रविधिसहित नयाँ ‘ओमोडा एक्स’ एसयूभीको अनावरण गरेको छ । अक्टोबर २० मा चीनको वुहुमा देखाइएको यो मोडलमा सहरको दैनिक प्रयोगसँगै घुमफिर र बाहिरी गतिविधिमा आवश्यक पर्ने सुविधालाई प्राथमिकता दिइएको छ ।

यसको मुख्य आकर्षण इन्फ्रारेड थर्मल इमेजिङमा आधारित नाइट भिजन प्रणाली हो । कम्पनीका अनुसार यसले रातिको समयमा ९० मिटर अगाडिसम्मका सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्छ । प्रणालीले तापबाट प्राप्त संकेतका आधारमा वरपरको अवस्था बुझ्न थप सहायता दिने भए पनि यसको वास्तविक सडक प्रदर्शनसम्बन्धी स्वतन्त्र परीक्षणको नतिजा उल्लेख गरिएको छैन ।

ओमोडा एक्सको बाहिरी बनावटमा तीखा ज्यामितीय आकार, फराकिला सोल्डर र स्पोर्टी स्वरूप देखिन्छ । कम्पनीले ‘मेका’ नाम दिएको डिजाइन शैलीमा अफरोड गाडीको बलियो देखावट मिसाएको छ । यसको टेललाइटमा पनि चट्याङबाट प्रेरित आकृति प्रयोग गरिएको छ ।

कम्पनीले दिएको विवरणअनुसार यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, १ हजार ८०० किलोसम्म टोइङ क्षमता र छतमा ७५ किलोसम्म भार राख्न सक्ने क्षमता प्रस्ताव गरिएको छ । क्याबिनमा दैनिक सामान तथा यात्राका सामग्री मिलाएर राख्न ३९ वटा भण्डारण स्थान छन् ।

भित्र एक्स आकारको फ्लोटिङ सेन्टर कन्सोल र १३.२ इन्चको केन्द्रीय टचस्क्रिन दिइएको छ । एसी र ड्राइभ मोडजस्ता बारम्बार प्रयोग हुने सुविधाका लागि भौतिक बटनसमेत राखिएका छन् । चालकको रुचिअनुसार गाडीका केही सेटिङ मिलाउन सकिने एक्स–मोड र संवादमा आधारित भ्वाइस सहायक पनि यसका विशेषता हुन् ।

द ड्रिभनको रिपोर्टअनुसार ओमोडा एक्स पूर्ण इलेक्ट्रिक र प्लगइन हाइब्रिड विकल्पमा आउने योजना छ । तर ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, मूल्य र बिक्री सुरु हुने समय खुलाइएको छैन ।

footer