Newad1
Featured blog image

पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट, एउटै छानामुनि तीन अन्तर्राष्ट्रिय ब्राण्ड

काठमाडौं । नेपालमा आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले गण्डकी प्रदेशको पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । एउटै छानामुनि विभिन्न अन्तर्राष्ट्रिय सवारी ब्राण्डका विद्युतीय मोबिलिटी समाधान उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको उक्त आउटलेटको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री भीम कार्कीले गरेका हुन् ।

कम्पनीका अनुसार नयाँ आउटलेट सञ्चालनसँगै पोखरा तथा आसपासका ग्राहकले तीन अन्तर्राष्ट्रिय सवारी ब्राण्डका विद्युतीय सवारी अवलोकन, आवश्यक परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसले उपत्यकाबाहिर आधुनिक विद्युतीय सवारीको पहुँच विस्तार गर्ने कम्पनीको योजनालाई थप बल पुगेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले राजधानीबाहिर विद्युतीय सवारीको बजार विस्तार गर्न सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले प्रदेशस्तरमा ईभीको प्रयोग बढाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

ग्राहक केन्द्रित अवधारणाअनुसार सञ्चालनमा ल्याइएको नयाँ आउटलेटमा सवारी अवलोकनदेखि व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ, खरिद प्रक्रिया तथा बिक्रीपछिको सेवा एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबाट ग्राहकले अझ व्यवस्थित र सहज सेवा अनुभव गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री कार्कीले गुणस्तरीय सेवा, आधुनिक प्रविधि र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको सीजी मोटर्सको प्रयास प्रशंसनीय रहेको बताए । उनले प्रदेशमा विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेका बेला यस्ता पूर्वाधारले हरित यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे ।

सीजी मोटर्सले देशभर सञ्चालनमा रहेका २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत आफ्ना ग्राहकलाई सहज र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । व्यापक चार्जिङ पूर्वाधारले विद्युतीय सवारी प्रयोगकर्ताको यात्रा थप सहज बनाउनुका साथै कम्पनीप्रतिको विश्वासलाई पनि मजबुत बनाएको कम्पनीको दाबी छ ।

कार्यक्रमका सभापति तथा सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले कम्पनीले उपत्यकामा मात्र सीमित नभई देशका विभिन्न सहरमा विद्युतीय मोबिलिटीको पहुँच विस्तार गर्ने रणनीतिअनुसार अघि बढिरहेको बताए । उनले आगामी दिनमा ग्राहकलाई अझ नजिकबाट सेवा प्रदान गर्न शाखा विस्तारलाई निरन्तरता दिइने जानकारी दिए ।

करिब १५० जना ग्राहक तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा नयाँ सवारी खरिद गर्ने ग्राहकलाई सवारी हस्तान्तरणसमेत गरिएको थियो । कम्पनीले पोखराबाट सुरु भएको यो विस्तार अभियानले देशका अन्य प्रमुख सहरमा पनि आधुनिक विद्युतीय सवारी सेवा विस्तार गर्ने योजनालाई थप गति दिने विश्वास व्यक्त गरेको छ ।

footer