Newad1
Featured blog image

विपद् व्यवस्थापनका लागि मलेसियाको प्रोटोनले नेपाललाई दियो ड्रोन

काठमाडौं । सडक भत्किएको छ, प्रभावित बस्तीमा तत्काल पुग्ने बाटो छैन र जमिनबाट वास्तविक अवस्था बुझ्नसमेत कठिन छ । यस्तो विपद्मा उद्धार टोली पुग्नुअघि नै आकाशबाट क्षतिको तस्बिर उतार्न सक्ने प्रविधि अब नेपालले प्रयोग गर्न पाउने भएको छ ।

मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख मलेसियाली रिंगिट मूल्यका ड्रोन सहयोग गरेको हो । रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रको अवस्था पहिचान, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ती ड्रोन उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाड्माले ड्रोन हस्तान्तरण र नेपालसम्म ल्याउने प्रक्रिया समन्वय गरेको थियो । सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिमको मुख्यालयमा हस्तान्तरण गरिएका ड्रोन नेपालमा खटिएको सोही टोलीमार्फत ल्याइएको हो । सहयोगमा प्राप्त ड्रोन नेपाल सरकारकै स्वामित्वमा रहनेछन् ।

प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङका अनुसार सडकबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई इन्स्पेक्सनमा ड्रोन उपयोगी हुनेछ । यसले तत्कालीन उद्धार र राहतमा मात्र नभई नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता बढाउन पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । प्रयोगमा ल्याउनुअघि मलेसियाली उद्धार टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी तालिम दिने बताइएको छ ।

footer